कमेडी च्याम्पियनका फाइनलिस्ट थापा पोखरामा 

पोखरा । कमेडी च्याम्पियनका अन्तिम तीनमा पर्न सफल हास्य कलाकार सन्तोष थापालाई गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुभकामना दिएका छन् । सोमबार मन्त्रालयमै भेटेर उनले थापालाई जीतको शुभकामना दिएका हुन् ।

‘तपाईं गण्डकी प्रदेशको प्रतिभा हो । तपाईँलाई शुभकामना छ,’ उनले भने, ‘सरकारको तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार छु ।’ थापाले मुख्यमन्त्रीसँगै अर्थमन्त्री रामजी बराल र कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापासँग पनि भेटेर सहयोगको आग्रह गरेका छन् ।

यसैबिच, उनलाई गोरखा मिलन समाज पोखराले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार एक कार्यक्रम गरी थापालाई जिताउन आफूहरू एकजुट रहेको समाजका उपाध्यक्ष कोपिला श्रेष्ठले बत्ताइन् । पोखरामा उनलाई जिताउन सहयोग अभियान नै चलेको छ । अभियानका संयोजक ऋषि गिरीले सन्तोष गोरखा मात्रै नभई समग्र गण्डकीको तारा भएको भन्दै सहयोगको अपिल गरेका छन् ।

पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले उनलाई पालुङटारको पहिचान र गण्डकीको सानको रूपमा उभ्याए । ‘उहाँ पालुङटारको त पहिचान हो । हामीले त्यसलाई ग्रहण गर्नुपर्छ,’ उनले भने, ‘गण्डकी प्रदेशको पनि सान हुन् । जिताउन सबैले पहल गरौँ ।’ अन्तिम तीनमा पर्न सफल भएपछि थापा भोटको अपिल गर्न गृह प्रदेश छिरेका हुन् । उनलाई भोट गर्न प्रभु पे को एप डाउनलोड गरेर १७ नम्बरमा मत दिनुपर्छ । प्रतिस्पर्धी थापाले गण्डकीबाट आफूले धेरै सहयोगको अपेक्षा गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *