झरीमा पनि फुर्सद नपाउने ७० वर्षीय सडक मजदुरको कथा 

धनकुटा ।  रामबहादुर भुजेल उमेरले ७० वर्ष पुगे । उनी सोमबार बिहान करिब ८ बजेतिर धनकुटा नगरपालिका वडा नम्बर ६ को पात्ले खोला नजिकै काममा व्यस्त थिए ।

उनको हाटमा कोदालो तथा साबेल थियो । कोशी राजमार्गको यो किनारमा सरसफाइ गर्दै गरेको भेटिएका भुजेलको दैनिकी भनेको सडक सरसफाइ नै हो । सडक मजदुरको रूपमा गर्नु पर्ने सडकमा आई परेका सबै कामहरू गर्नु पर्ने सुनाए ।  रामेछाप घर बताउने उनी पात्ले क्षेत्रमा काम गर्ने लेन्थ वर्कर हुन् । आफूलाई ७० वर्ष पुगेको बताउने उनी यसरी काम गर्न थालेको २०६१ सालदेखि हो ।

२०३८ सालमा १६ वर्षको हुँदा उनले आफ्नो जिल्ला छाडे र धनकुटा आए । काम खोज्दै भतारिँदै गाउँकै एकजना दाईसँग धनकुटा आएका  उनले शुरुमा मोहनको बिस्कुट भट्टीमा काम गर्थे । त्यसपछि उनी त्यहाँको काम गर्दा गर्दै भट्टीको काम छाडेर बगैँचाको काम गर्न थाले । ‘मलाई साहुले भट्टीको काम छाडेर बगैँचाको काम लगाए, उनले भने, लामो समयसम्म त्यही बगैँचाका रुखहरू रुँघेर बस्ने काम पनि गरेँ ।’

त्यही बगैँचामा काम गर्दै गर्दै नजिकै सुकुम्वासीको लागि जग्गा दिने भएपनि  सुकुम्वासी बस्तीमा घर बनाएर बस्न थाले ।  बनाएको घर अहिले छोरी ज्वाइँलाई दिएर उनी त्यही घरको एउटा कोठामा बस्छन् ।

उनको जन्मथलो रामेछापको दुरागाउँ हो । उनी  धनकुटामै काम गर्दैगर्दा  घरमा बाबुआमा बिते घरको रेखदेख गर्ने कोही नभएपछि आफ्नो जहानलाई रामेछापमा नै राखेको उनले बताए । ४ बहिनी छोरी एक भाइ छोरा भएपनि उनको साहारा अहिले कोही पनि छैनन् । आफैँले बनाएको घर पनि कान्छी छोरीलाई दिएर आफू एउटा कोठामा बसेको भुजेल सुनाउँछन्  ।

२०६१ सालमा  ६ हजार तलबबाट काम थालेका उनले १७ वर्ष पछि अहिले मासिक  २१ हजार तलब पाउँछन् । बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक ८ घण्टा खट्नु पर्ने बताएका भुजेलले पानी परेको बेलामा पनि फुर्सद नपाइने सुनाए । ‘कहिलेकाहीँ दिक्क लाग्छ, पानी परेको बेला शरीर निक्कै दुख्छ, उनले भने, हामीलाई करारमा राखेको छ, , स्थायी पनि गर्दैन, निकाल्दा पनि निकाल्दैन, बरु यसो खर्च दिएर निकाले हुन्थ्यो नि ।’

आफ्नो हाजिर बैदारले राख्ने गरेको सुनाएका भुजेलले कहिलेकाहीँ हाकिमहरू आएर गाली गर्दा नराम्रो लाग्ने सुनाए । आफ्नो भागमा ३ किलोमिटर पर्ने बताएका उनले पात्ले गाउँ उनको कार्यक्षेत्र भएको  जानकारी दिए ।

तीन किलोमिटरको दुरी एकसरो सफा गरिनसक्दै फेरी झाडीले ढाक्ने र माथिदेखि नै फेरी सफा गरेरै कपाल फुलेको उनको अनुभव छ। झाडी सफा गर्ने, सडकका खाल्डाखुल्डी पुर्ने, पहिरो झरेको बेला पहिरो पन्छाउने काम गरेका भुजेल आफूलाई सडक विभागको कर्मचारी हुँ भन्न पाउँदा गौरव लाग्ने बताउँछन् ।

उपदानको आशा
कोसी राजमार्गमा काम गरेको भेटिन यस्ता सडक मजदुरलाई लेन्थ वर्कर भन्ने गरिन्छ ।  सडक डिभिजन कार्यालय धनकुटाका अनुसार धनकुटाको भेडेटारदेखि टुटेदेउरालीसम्मको १३६ किलोमिटरमा करिब ५० जनाको हाराहारीमा लेन्ट वर्कर रहेका छन् ।

कार्यालयका प्रमुख दानकुमार शाक्यले  हरेक ३ किलोमिटरमा १ जना लेन्थ वर्कर रहने व्यवस्था अनुसार  १३६ किलोमिटरमा करिब ५० जनाको हाराहारीमा लेन्थ वर्करले काम गरेको बताए । कुनै ठाउँमा  २ किलो मिटरको दुरीमा १  जना पनि काम गरेको अवस्था छ ।

धनकुटामा ७० वर्ष काटेकाहरूको सङ्ख्या एकदमै कम रहेको शाक्य बताउँछन् ।  ‘सडकमा काम गर्नेहरू कसैको पनि कुनै उमेर हद तोकिएको हुँदैन, उनले भने,  धनकुटामा  ७० कटेका कम भएपनि पूर्वतिर र विराटनगर मा ८० बर्ससम्मका लेन्थ वर्करहरु रहेका छन् ।’ सरकारले केही उपदान दिन्थ्यो की भनेर उनीहरू आस गरेर बसेको प्रमुख शाक्यले सुनाए । ‘राज्यले केही सेवा सुविधा दिन्थ्यो कि भन्ने आस देखिन्छ उनले भने, कतिपयको नाम उनीहरूको भएपनि परिवारका सदस्यले काम गरिरहेका हुन्छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.