मलेसिया गएका युवा १६ वर्षदेखि बेपत्ता

पर्वत । रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि वेपत्ता भएका छन् । महाशिला गाउँपालिका-१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन् ।

विसं २०६२ मा त्यसतर्फ गएका सर्वजित हालसम्म परिवारका सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् । छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गरेकी छिन् । राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरु अत्यन्त पिरमा परेको उनले बताइन् ।

उनले भनिन्, ‘घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा हामी छोराकै पिरले दिनको भोक न रातको निद भएका छौँ ।’ विष्णुमायाले भक्कानिँदै भनिन् । मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरिरने गरे पनि त्यसपछि कुराकानी हुन छोडेको उनको भनाइ थियो ।

अहिले कहाँ कस्तो अवस्था छ, कुनै आपत्विपत् परेर हो कि अथवा केही भयो कि ? छोराको अवस्था थाहा पाउन नसकेपछि हामी सारै सस्यामा परेका छौँ । लामो समयसम्म पनि छोरा घर नफर्केपछि छोरा आमाबाबु चौबिसै घण्टा पिरोलिने गरेको बेपत्ता सर्वजितकी भाउजू सम्झना विकले बताइन् ।

काठमाडौँ मेभ मेनपावरबाट मलेसिया गएका सर्वजित मलेसियाको सेलेङगर भन्ने ठाउँमा (निलेइ कम्पनी) हेन गल्वस कम्पनीमा काम गरेको उनका आफन्त विष्णुराम विकले बताए। चार वर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सम्पर्कविहीन भएको उनको भनाइ छ । सर्वजितलाई विदेश पठाएको मेनपावर अहिले बन्द भएको छ । हालसम्म धेरै खोजी गर्दा पनि सर्वजितको अवस्था पत्ता नलागेको उनले बताए । विक परिवार अझै पनि छोरो घर फर्किन्छ भन्ने आशामा रहेका छन् । छोरा गएको ठाउँ मलेसियालगायत सबैतिर खोजिदिन परिवारले आग्रह गरेका छन् । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *