आफ्नै अनुहारमा कालो पोत्दै सांसद

काठमाडौँ । शुक्रबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले सत्तारुढ दल नेपाली काँग्रेस सांसदहरू बस्ने सत्ता पक्षको पहिलो लहरको कुर्सी भाँचे । आफूहरूको अवरोधका बिच सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही अगाडि बढाएपछि रुष्ट एमाले सांसदहरूले रोष्ट्रममा जाने प्रयास गर्दा मर्यादापालकसँग घम्साघम्सी नै चल्यो ।

घम्साघम्सीमा टेबल भाँचिएपछि पहिलो लहरमा बसेका काँग्रेस सांसदहरू महामन्त्री शशाङ्क कोइराला, प्रकाशमान सिंह र सीतादेवी यादव पछाडिको लहरमा गएर बसे । एमाले सांसदहरूले रोष्ट्रममा उक्लने प्रयास गर्दा मर्यादापालकको काँध मात्र चढेनन्, हात टोके र चिथोरे पनि । उफ्रिएर रोष्ट्रममा पुग्न खोज्ने सांसदलाई रोक्न मर्यादापालकलाई हम्मे पर्‍यो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणको माइक तानेर रोष्ट्रमतर्फ (सभामुख र अर्थमन्त्री भएतर्फ) फ्याँक्ने प्रयास गरे । गृहमन्त्री खाँणको टेबुलको माइक तानेर रोष्ट्रमतर्फ फ्याँक्न खोज्ने एमाले सांसद रेखा कुमारीले पत्रकारसँग हाकाहाकी भनिन्- ‘सभामुखलाई र अर्थमन्त्रीलाई हान्न माइक तानेको ।’

यो पछिल्लो उदाहरण मात्रै हो । संसद्मा सांसदका यस्ता हर्कत कति देखियो कति । जसले संसद्को गरिमामाथि नै प्रश्न उठाएको छ । आम मानिसमा सांसद भनेका यस्तै गतिविधि गर्नेहरू त हुन् नि भन्ने छाप परेको छ । प्रतिनिधिसभा नियमावली, राष्ट्रियसभा नियमावली छ, जहाँ सांसदहरूको मर्यादा के हुने ? उल्लेख छ । तर, सांसदहरू आफैँले बनाएको नियमावली र मर्यादा आफैँ पालना गरिरहेका छैनन् ।

शुक्रबार सरकारले नयाँ बजेटका रुपमा विधेयक ल्याउन खोज्दा अर्थमन्त्रीलाई रोक्न रोष्ट्रममा जाने प्रयासमा सांसदले मर्यादापालकको हातै टोक्नेसम्मको ‘हर्कत’ गरे । एमाले संसदीय दलको बैठकमा सोमबारको बैठक बस्नु अघि दलका नेता केपी शर्मा ओलीले सांसदलाई निर्देशन नै दिनुपर्‍यो, काँधमा नचढ्नु, माइक नखोस्नु ।

आफ्ना सांसदलाई यो कुरा सिकाउनुपर्ने अवस्था भन्दा लाजमर्दो अर्को के होला ?

विगतमा पनि बजेट ल्याउँदा असन्तुष्टि मात्र होइन बजेट प्रस्तुत गर्नै नदिने प्रयास र छेकाछेक भएका उदाहरण छन् । संसद्मा बजेट पेस गर्दै गरेको ब्रिफकेस खोस्नेदेखि च्यात्नेसम्ममा घटना भएका नजिर छन् । तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक वर्ष २०६६-६७ को बजेट संसद्मा पेस गर्दा ठुलै हुलदङ्गा मच्चियो । बजेटको विरोधमा रहेका तत्कालीन एकीकृत नेकपा माओवादीका सांसदहरूले पाण्डेमाथि आक्रमणकै शैली अपनाए । मन्त्रीको हातबाट बजेटको ब्रिफकेस खोसेर मन्त्रीलाई नै सोही ब्रिकेसले प्रहार गरे । ब्रिकेसले मन्त्री पाण्डेलाई सामान्य चोट समेत लागेको थियो ।

संयोग कस्तो भयो भने त्यसबेला मन्त्रीलाई बजेट पेस गर्न नदिने पार्टीको लाइन अनुसार संसद्मा उग्र देखिएका जनार्दन शर्मा यसपटक अर्थमन्त्री छन् । शुक्रबारको बैठकमा उनैले पेस गर्ने विधेयक एमालेका सांसदले पेस गर्न नदिने भएपछि उनी सांसदहरू छल्दै दौडेर रोष्ट्रममा पुगेका थिए । २०४९ सालमा नेपाली काँग्रेसका सांसद रामचन्द्र पौडेललाई एमाले सांसद गोल्छे सार्कीले थप्पड हानेका थिए ।

२०५६ सालमा एमालेको विरोधका बिच तत्कालीन सभामुख रामचन्द्र पौडेलले स्थानीय शासन स्वायत्त ऐन पारित भएको घोषणा गरे । लगत्तै संसद्मा झडपको स्थिति बन्यो । तत्कालीन एमाले सांसदहरूले सभामुखको रोष्टम घेरे र नाराबाजी गरेका थिए । तर, स्थिति मर्यादापालकले सम्हाले । २०६४ सालमा संविधानसभाको पहिलो बैठकमा सभासद् कमला शर्माले नेपाली काँग्रेसका सभासद् पूर्णबहादुर खड्कालाई चप्पलले हानिन् । यो घटनाले पनि त्यसबेला संसद्मा सांसदले कस्तो व्यवहार गर्नुपर्छ भन्ने बहस नै छेडेको थियो । तर, यस्तो प्रवृत्ति रोकिएन ।

दोस्रो संविधान सभाको बैठकमा दुईवटा कुर्सी तोडफोड गरेपछि तत्कालीन सांसद सञ्जयकुमार साह त निलम्बनमा नै परेका थिए  । संविधानसभाको विषयगत समितिको बैठकमा तत्कालीन सभासद् विश्वेन्द्र पासवानले सिंहदरबारमा २ तल्ला माथिबाट कुर्सी भुईँमा फालेका थिए ।

सङ्घको सिको प्रदेशमा पनि
सङ्घीय संसद्मा देखिएको यस्तो प्रवृत्ति प्रदेश सभाहरूमा पनि सरेको छ । १९ असोज २०७७ मा पाँच नम्बर प्रदेश सभामा कुर्सी तोडफोड भयो ।

सभामुख पूर्णबहादुर घर्तीले काँग्रेस सांसदहरूको नाराबाजीकाबीच राजधानी कहाँ रहने र राजधानीको नामको प्रस्तावमाथि छलफल अगाडि बढाएपछि काँग्रेसका सांसदहरूले प्रदेश सभामा नाराबाजीसहित कुर्सी तोडफोड गरेका हुन् । काँग्रेसका सांसदहरू रुपन्देहीका अष्टभुजा पाठक र नवलपरासीका वैजनाथ कलवारले कुर्सी उचालेर तोडफोड गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भयो ।

३० असार २०७८ मा गण्डकी प्रदेशमा चलिरहेको बजेट अधिवेशनमा एमाले सांसद तथा पूर्वमन्त्री रामशरण बस्नेतले बजेटको विरोध गर्दै कुर्सी फाले । बजेट विनियोजन प्रक्रियाअनुसार नभएको भन्दै एमाले विरोध गरेको थियो । बजेटमाथिको छलफलका क्रममा एमाले सांसदहरूले नाराबाजी पनि गरे । त्यही क्रममा बस्नेतले कुर्सी फालेका हुन् ।

यी घटनाहरूको भिडियो र फोटाहरू सामाजिक सञ्जालमा भाइरल नै भए । सांसदहरूको हर्कतको निकै आलोचना भयो । तर, रोकिएको छैन । सङ्घदेखि प्रदेशमा दोहोरिने क्रम जारी छ ।

अमर्यादित व्यवहार
संसदीय मामलाका जानकारहरू सांसदको व्यवहारबाट सन्तुष्ट हुन नसकिएको बताउँछन् । पूर्वसभामुख तारानाथ रानाभाट संसद्को गरिमा राख्ने गरी सांसदहरूले भूमिका खेल्न सक्नुपर्ने बताउँछन् ।

उनकाअनुसार पहिले पहिले संसद् बैठकहरूमा कुर्सी भाँच्ने, माइक फुटाउने, संसद्को रेलिङ भाँच्ने काम गर्थे । धेरैपटक संसद् अवरोध हुन्थ्यो । ‘संसद्मा विरोध गर्नु सामान्य भए पनि झडप गर्न खोज्ने काम अराजक व्यवहार हो’ उनी भन्छन्, ‘त्यसलाई नियन्त्रण गर्ने विधिहरू छन् । सांसदहरू पनि संविधान, संसदीय ऐन नियम र संसदीय मर्यादाको परम्पराको अधीनमा रहनुपर्छ । रोष्टम घेर्ने भनेको अहिले सभामुखको आसनलाई घेर्न खोज्दा रहेछन्, खास घेर्ने भनेको बोलिरहेको ‘पोडियम’ हो ।’

सभामुखलाई पनि आफ्नो अर्को छुट्याउन मर्यादाले नदिने उनको भनाइ छ । ‘हामीले निष्कासन गरेकालाई कारबाही किन गरिएन भन्ने एमालेको गुनासो छ । सभामुखले दर्ता गरेको कागजमा कानुन आकर्षित भएको छ कि छैन, त्यसबारेमा पारदर्शिता गराइदिनुपर्थ्यो । कि यहाँ नियमावली आकर्षित देखिँदैन, तपाईँहरूले भन्ने बित्तिकै कारबाही हुँदैन भन्न सक्नुपर्‍यो’ उनले सभामुखको भूमिकाका सन्दर्भमा पनि प्रश्न गरे, ‘त्यतिकै भनेर मात्र भएन ऐन, नियमावली केमा छ, फलानो फलानो दफा उपदफाले भनेअनुसार तपाईँको माग पूरा हुँदैन भन्न सक्नुपर्‍यो । किन प्रस्ट केही नगरेको ?’

संविधानसभा सदस्य समेत रहेका संसदीय मामलाका जानकार खिमलाल देवकोटा सांसदहरूको व्यवहार अमर्यादित हुँदा संसद्को गरिमामा आँच पुगेको बताउँछन् । ‘हाम्रो संसद्को अभ्यास १०-१५ वर्षदेखि भित्रै बसेर र त्योभन्दा अगाडिदेखि पनि निरन्तर हेरिराखेको छु । समग्रमा भन्दा म आफूलाई हाम्रोमा सांसदको भूमिका र व्यवहारबाट बिलकुलै सन्तुष्ट पाउँदिनँ’ देवकोटा भन्छन्, ‘सैद्धान्तिक रूपमा हामी जे भन्छौँ, व्यवहारमा त्यो भएको छैन ।’

उनी कुर्सी उचाल्ने, मर्यादापालकलाई टोक्ने, बिना अनुमति रोष्ट्रममा जाने त परको कुरा संसद्मा एजेन्डाको विषयमा बाहेक अरू पढ्न नहुने, चुरोट, खैनी, गुट्खा जस्ता चिज खान नहुने, सभामुख र अरूका आसनको बिचबाट हिँड्न नहुने, अरू बोलिरहेको बेलामा बोल्न नहुने बताउँछन् ।

तर, यो माननीयहरूको आचारसंहिता विपरीतका संससदमा प्रस्तुत हुने गरेका सांसदको हर्कतले संसद्को गरिमा धूलिसाथ भएको देवकोटा बताउँछन् । ‘संसद्मा सभामुखलाई सम्बोधन गरेर बोल्नुपर्ने हुन्छ । यो संसदीय मर्यादा हो’ उनी भन्छन् । र अब समस्या समाधानका लागि सबैभन्दा पहिले सांसदले म को हुँ भन्ने बुझ्नुपर्ने उनको भनाइ छ । र संसदीय दलले सांसदको भूमिका, अभिव्यक्ति, व्यवहारमाथि निगरानी राख्नुपर्ने र आवश्यकताअनुसार कारबाहीमा जान सक्नुपर्ने उनको सुझाव छ ।

यसबाहेक सांसदहरू कहिले राहदानी दुरुपयोग, कहिले अकुत सम्पत्तिलगायतका कसुरमा संलग्न हुने गरेका आरोप लाग्ने र अभियोग पुष्टि हुने गरेका उदाहरण पनि छन् । यस्ता गतिविधिले  संसदीय व्यवस्थाका साथै सांसद स्वयम्को अनुहारमा कालो पोतिएको संसदीय मामिलाका जानकारहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.