सेयर बजारका ४२ लाख लगानीकर्ताको रक्षा गर्ने दायित्व हाम्रो हो : मन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पूँजी बजारमा भएको लगानीको रक्षा गर्ने दायित्व सरकारको भएको बताएका छन् । बजेट अध्यादेश प्रतिस्थापन विधेयकका विषयमा स्पष्ट पार्न अर्थमन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मलेनमा उनले यस्तो बताएका हुन् ।

‘पूँजी बजारका ४२ लाख लगानीकर्ताको लगानी रक्षा गर्नुपर्ने दायित्व सरकारको हो,’ उनले भने, ‘त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने दायित्व छ ।’

तर, आफूले राष्ट्र बैंकका गभर्नरलाई फोन गरेर सेयर बजार बढाउनुहोस् वा बजार घटाउनुहोस् भनेर निर्देशन नदिएको उनले बताए ।

‘उहाँ त मेरो सल्लाहाकार हो,’ सँगै रहेको गभर्नर महाप्रसाद अधिकारीलाई देखाउँदै उनले भने, ‘सल्लाहाकारलाई नै सेयर बजार बढाउनुहोस् वा बटाउनुहोस् भनेर मैले भने हुँला त ? उहाँ त अहिले यहीँ हुनुहुन्छ । मेरो सल्लाहाकार भएकोले उहाँसँग फोनमा कुराकानी त गर्छु । तर बढाउनुहोस् वा घटाउनु होस् भन्दिँन । यो भन्ने कुरा नै हुँदैन ।’

केही दिनअघि मात्रै राष्ट्र बैंकले सेयर धिताे कर्जामा दिइने ऋणमाथि कडाइ गरेपछि सेयर बजार खस्किएकाे थियाे । बजारमा ठूलाे गिरावट देखिएपछि पूँजीबजारमा सुधार ल्याउन अर्थमन्त्रीले फाेन गरेर गभर्नरलार्इ निर्देशन दिएकाे भन्ने खबर अर्थमन्त्रीकै सचिवालयले फैलाएकाे थियाे । उक्त खबरपछि अर्काे दिन बजार पुनः उकालाे लागेकाे थियाे ।

कार्यक्रमा उनले सर्वोत्तम सिमेन्टको सेयरमा भएको इन्साइडर ट्रेडिङमा नियामक निकायकै प्रमुखहरुको संलग्ना रहेको विवादका विषयमा समेत अध्ययन अनुसन्धान भइरहेको बताए ।

‘न्यायाधीशकै संयोजकत्वमा बनेको समितिले यस विषयमा अध्ययन गर्दैछ,’ उनले भने, ‘यो विषय चाँडै टुंगो लाग्ने छ ।’

नेपाल धितो पत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका सीईओ चन्द्रसिंह साउद उक्त कम्पनीको सेयरको इन्साइडर ट्रेडिङमा संलग्न रहेको भन्दै विवाद भएको हो । विवाद बढेपछि नेप्से प्रमुख साउदले भने पदबाट राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *