मनाङेले बुझाएनन् सम्पत्ति विवरण, भन्छन्- ‘सम्पत्ति कति छ कन्फ्यूज छु’

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले अहिलेसम्म सम्पत्ति विवरण बुझाएका छैनन् । ११ मन्त्रीमध्ये २ मन्त्रीले हालसम्म विवरण नबुझाएका हुन् ।

मनाङेले आफूसँग कति सम्पत्ति छ भन्ने नै निर्क्यौल नगरेको बताएका छन् । आइतबार (आज) पत्रकार भेटघाटमा उनले श्रीमती र छोराहरुको नाममा भएको भन्दै त्यसलाई आफ्नो भन्न नमिल्ने बताएका हुन् ।

‘सम्पत्ति कति छ, कहाँ छ, आफैं कम्फ्य्ज छु,’ उनले भने, ‘मसँग सम्पत्ति छ । छैन भन्न मिल्दैन । तर फर्स्ट वाइफलाई दिइसकेको छु, छोराहरूका नाममा राखिएको छ । अब त्यसलाई मेरो भनुँ भने समस्या आउँछ ।’

उनले मुद्दा नै आफ्नो सम्पत्ति भएको सुनाए । ‘मेरो पुरानो सम्पत्तिमा मुद्दा पनि छ,’ उनले भनेका छन्, ‘त्यो सम्पत्ति अहिले बढेको पनि छ । अरू अहिलेसम्म मसँग केही पनि छैन । कसैले दिन्छु भन्दै आउला ।’

मनाङे कर्तव्य ज्यान मुद्दामा कारबाहीमा परेका थिए । हालसम्म मुद्दा छिनोफानो भएको छैन । मुद्दा लड्न हिरासत मुक्त भएका मनाङेले सोही समयमा सांसदको शपथ ग्रहण गरेका हुन् ।

उनी तेश्रो पटक गण्डकीको युवा तथा खेलकुद मन्त्री बनेका हुन् । मनाङेलाई सम्पत्ति शुद्धीकरण मुद्दासमेत थियो । त्यसमा सफाइ पाइसकेको उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *