चीनसँगको सीमा अध्ययन गर्न टोली सिमकोटमा

सिमकोट । नेपाल-चीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययनका गठन गरिएको अध्ययन टोली शनिबार जिल्लाको सिमकोट आइपुगेको छ । टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने भएको छ । मौसमले साथ दिएमा १५ वटै स्तम्भको अध्ययन गरिने तर मौसमले साथ नदिएमा १३ वटा मात्रै स्तम्भको अध्ययन गरिने प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिए ।

गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य नेतृत्वसहितको सात जनाको टोली हुम्ला पुगेको हो । टोलीमा सहसचिव आचार्य, नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोल र सोही विभागले तोकेको दुई विज्ञ तथा नेपाल प्रहरीका अधिकारीसहित सात जना रहेको प्रमुख जिल्ला अधिकारी आर्चायले जानकारी दिए । अध्ययन टोलीले चीनसँग जोडिएका हुम्लाका सिमानाको अध्ययन गरिसकेपछि मात्रै चीनले सीमा मिचेनमिचेको निष्कर्ष निकाल्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

गत वर्ष नाम्खा गाउँपालिका–६ लिमिको लोलुङजोङमा चीनले निर्माण गरेका भवन नेपाली भूमिमा भएको खबर सार्वजनिक भएपछि पहिलो पटक सरकारी टोली स्थलगत अध्ययनका लागि हुम्ला पुगेको थियो । गत वर्ष हुम्लामा पर्ने नेपाली क्षेत्रमा चिनियाँ पक्षले सीमा मिचेर केही संरचनाहरू निर्माण गरेको भन्ने विवाद उत्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *