गोरखामा मुस्लिमहरु आन्दोलित 

पोखरा । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत तल्ला तहको निर्वाचन सुरु भएको छ । केही जिल्लामा वडा तहको निर्वाचन सकेर पालिका अधिवेशन हुने तर्खरमा छ भने कतै वडाको चुनाव हुँदै छ ।

महाधिवेशन लक्षित गरेर गोरखाका मुस्लिमहरु आन्दोलित भएका छन् । उनीहरु कांग्रेसका सबै तहमा मुस्लिम समुदायको उपस्थिति अनिवार्य गर्न माग गरेका हुन् । आन्दोलित मुस्लिमहरु प्रतिनिधिहरुले कांग्रेस गोरखाको कार्यालयमा धर्ना दिएका छन् । विधानमा सबै जाति, क्षेत्र, पिछडिएको वर्ग, लिंग, अल्पसंख्यकहरुको प्रतिनिधि गर्ने व्यवस्था भएपनि निर्देशिका बनाएर विधानको व्यवस्था कटौती गरिएकोमा उनीहरुको आपत्ति छ ।

मुस्लिम संघका केन्द्रीय सदस्य रहमतुल्ला मियाँले सबै तहमा समान उपस्थिति हुनुपर्ने बताए । ‘कांग्रेसको विधानमा सबै पिछडिएका वर्गको सहभागिता हुने भनेको छ । विधानको व्याख्या गरेको थिएन । तर अनुसूचीको निर्देशिका बनाउँदा जनसंख्यालाई आधार बनायो । पिछडा वर्गहरुको सहभागिता भएन,’ उनले भने, ‘लोकतन्त्र नहुँदा मुस्लिमको प्रतिनिधित्व हुन्थ्यो । अहिलेको निर्देशिकाले बन्चित गरायो ।’

निर्देशिका अनुसार जनसंख्या कम भएको ठाउँमा प्रतिनिधित्व खारेज गरेको उनले सुनाए । ‘गण्डकी प्रदेशमा मुस्लिमहरु पनि खुला चुनाव लड्नुपर्ने भयो । वडामा प्रतिनिधित्व गरायो । त्यसमाथिका तहमा हटायो । सबै ठाउँमा सुनिश्चित हुनुपर्छ,’ मियाले भने । दबाब स्वरुप धर्ना बसेको मुस्लिम संघ गोरखाले जनाएको छ । कांग्रेस गोरखाले पनि मुस्लिम संघको मागमा समर्थन जनाएको छ । उनीहरुको मागलाई केन्द्रिय कार्यालयमा जानकारी गराउने कांग्रेस गोरखाका सचिव नन्दु न्यौपानेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *