अन्तरवार्ता

आत्महत्याको सोच हटाउन सबैको सहयोग जरुरी छ : मनोविश्लेषक आचार्य 

काठमाडौँ । नेपालमा बर्सेनि सात हजारको हाराहारीमा आत्महत्या हुने गरेको छ । यो संख्या अझ बढी पनि हुन सक्ने मनोविश्लेषकहरू बताउँछन् । आत्महत्याको प्रयास गर्नेको संख्या भने अझै धेरै छ । नेपालमा पुरुषको तुलनामा महिलाले आत्महत्याको प्रयास बढी गर्ने गरेको पाइएको मनोविश्लेषक वासु आचार्य बताउँछन् । आत्महत्या यसको प्रयास र मनोवैज्ञानिक अवस्थाबारे मनोविश्लेषक आचार्यसँग मकालुखबरकर्मी समीक्षा गाहाले गरेको कुराकानी :-

आत्महत्या गर्ने व्यक्तिको पहिलो संकेत के कस्तो हुन्छ ?
आत्महत्या भन्ने बित्तिकै व्यक्तिको मानसिक अवस्था जोडिन्छ । मानसिक समस्या पनि विशेषगरी डिप्रेसनहरू, एडजस्टमेन्ट डिसअर्डरहरं, जाँडरक्सी र ड्रग्सको प्रयोग गर्ने लगायतलाई आत्महत्यासम्बन्धी सोच आउने गर्छ । अब दिमागमा जीवन सिद्धियो, अब म अगाडि बढ्न सक्दिनँ, अब म खत्तम भएँ भन्ने सोच पैदा हुन्छ अनि ‘होपलेस्’ भएको महसुस गर्ने गर्छन्, उद्देश्यविहीन भएर अब यो दुनियाँमा टिक्न सक्दिनँ भन्ने निर्णय गरेपछि आत्महत्याको योजना बनाउने अठोट गर्छन् ।

डिप्रेसनको कुन स्टेजमा पुगेपछि मानिसले आत्महत्याको बाटो रोज्छ ?
डिप्रेसनमध्येको अलि जटिल डिप्रेसन भयो भने अथवा डिप्रेसन भएको मानिसलाई राम्रोसँग सपोर्ट भएन र उसले आफूले आफैँलाई सम्हाल्न नसक्ने स्थिति आयो भने आत्महत्याको बाटो रोज्दछ ।

डिप्रेसनमा भएको मानिसलाई माया‚ प्रेम‚ सद्भावको एकदमै जरुरत हुन्छ । कुनै मानिस उसले सोचेको, खोजेको र चाहेको अवस्थामा अथवा त्यो स्थितिहरूमा अगाडि बढ्न सक्दैन भनेर निश्चित गर्छ । अनि आत्महत्या अन्तिम उपाय भन्ने सोच राख्दछ । अनि उसले म कुनै हालतमा अब यो दुनियाँमा अगाडि बढ्न सक्दिनँ‚ र अहिले नै आएर यति गाह्रो छ भने भोलिका दिनमा झन् कति गाह्रो होला भनेर सोच्न थाल्छ । यदि उसले आफ्नो नजिकका मान्छेलाई यस्तैबारेमा केही संकेत गरेको रहेछ भने कतै उसले आत्महत्या पो गर्दै छ कि भनेर परिवार र उसका नजिकका मानिसले बुझ्नुपर्दछ ।

मानसिक अवस्था बिग्रँदै गएको भनेर कसरी थाहा पाउने ?
आफ्नो मानसिक अवस्था बिग्रँदै गएको छ भनेर थाहा पाउनका लागि उसको मुड अथवा मनोवस्थाका बारेमा बुझ्नुपर्ने हुन्छ । ऊ बिस्तारै कम खुसी हुँदै जान्छ, उसमा रमाइलो गुणहरू हराउँदै जान्छ । उत्सुकताहरू बिस्तारै कम हुँदै जान्छ, पहिले रमाइलो लाग्ने ठाउँमा अब रमाइलो लाग्न छोड्छ, पहिले जान मन लाग्ने ठाउँमा जान मन नलाग्ने हुन्छ, पहिले भेटेका साथीहरूसँग भेट्न, घुम्न‚ रमाउन मन नलाग्ने हुन्छ, खान मन नलाग्ने, निन्द्रा कम लाग्ने, चिटचिहाट हुने, आफू एकदमै नराम्रो लाग्न थाल्ने, मेरा लागि कोही छैन, मेरा लागि साथ दिने सहयोग गर्ने कोही छैन, म पनि कसैका लागि केही गर्नै सक्दिनँ भन्ने कुरा मनमा खेल्न थाल्यो भने यो मानसिक पीडित हुन थाल्यो‚ यसलाई केही न केही समस्याहरू आउन थाले‚ अब उसका लागि साथ-सहयोग र सपोर्टको आवश्यकता छ भनेर बुझ्न जरुरी हुन्छ । होइन भने उसलाई हेर्दाहेर्दै डिप्रेसन भएर आत्महत्याको विचारसमेत आउन सक्छ ।

कुन उमेरका मानिसमा आत्महत्याको बढी जोखिम भएको पाइएको छ ?
उमेर समूह भन्दा पनि नेपालमा आत्महत्या गर्नेमा बढी महिलाहरू छन् । आत्महत्या गर्न कोसिस गर्नेमा बढीजसो महिला पर्दछन् । आत्महत्या नै गर्नेमा चाहिँ महिलाभन्दा पुरुष धेरै छन् । आत्महत्याको प्रयास गर्ने महिलामध्ये कसैको डोरी चुँडिन्छ, कसैको विषको मात्रा कम हुन्छ, कसैको खुट्टा मात्र भाँचिने‚ कसैको टाउको मात्रै फुट्नेजस्ता घटनाहरू धेरै पाइएको छ । त्यस्तै पुरुषहरूले चाहिँ एकदमै दर्दनाक तरिकाले आत्महत्या गर्ने गरेका छन् ।

आत्महत्या कम गर्ने उपायहरू के-कस्ता छन् ?
आत्महत्या कम गर्ने सबैभन्दा महत्वपूर्ण उपाय भनेको जनचेतना हो । आफू मानसिक रुपमा विक्षिप्त भएको भएको अवस्थामा समाधानका लागि विभिन्न उपायहरू खोज्नुपर्दछ । परामर्श तथा उपचार गर्नुपर्दछ । यसो गर्दा मानसिक समस्या सजिलै निको हुन्छ । केही समय लाग्न सक्ला‚ तर मज्जाले निको हुन्छ भनेर बुझ्नुपर्दछ । मानसिक समस्याका लागि पारिवारिक साथ सहयोग, साथीसङ्गीको सहयोग आवश्यक हुन्छ ।

यस्तो अवस्थामा साथ सहयोग र सकारात्मकताको एकदमै जरुरी हुन्छ । आफूले पनि सकारात्मक सोच्न कोसिस गर्नुपर्दछ । अब म सक्दिनँ‚ अब म खत्तम भएँ भनेर नसोच्ने, यो अहिलेको अवस्थाचाहिँ सकिएर जान्छ । नसक्ने स्थिति अहिले आएको हो‚ पछिसम्म नै यस्तो भएर जाँदैन‚ समाधान भइसकेपछि म फेरि जे गर्न पनि सक्ने स्थितिमा फर्किहाल्छु भन्ने सोच राख्नुपर्दछ ।

मानसिक अवस्थाको लक्षण आफू सकिइयो, केही गर्न सक्दिनँ भन्ने हुँदो रहेछ । लक्षणका कारण मलाई यस्तो भएको हो‚ रोग निको भएपछि सबै हटेर जान्छ भन्ने बुझ्नुपर्दछ । र‚ यस्तो बुझ्न थालेपछि उसलाई परामर्शद्वारा निको बनाउन सकिन्छ । त्यसपछि आत्महत्याका विचारहरु हराउँदै जान्छन् । र बिस्तारै सबै ठिक हुँदै जान्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.