श्रम बजार सूचना प्रणालीसम्बन्धी कार्यशाला सम्पन्न

काठमाडौँ । नेपालको श्रम बजारको आवश्यकता श्रमिक आपूर्तिको अवस्थाका विषयमा श्रम बजार सूचना प्रणालीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । निजी क्षेत्रका पाँचवटा छाता संगठनको सहभागितमा सञ्चालन भइरहेको इम्प्लोएर्स लेड लेबर मार्केट सचिवालय (ईएलएमएस) परियोजनाले कार्यशाला आयोजना गरेको हो ।

श्रम बजार सूचना प्रणालीलाई संस्थागत गर्ने र श्रम बजारको सूचना संकलन गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको छ । यस कार्यक्रमले नेपालको श्रम बजारमा उपलब्ध श्रमिकको अवस्थाबारे जानकारी दिनेछ ।

कार्यशालामा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले रोजगारीका अवसर खोजिरहेका व्यक्तिहरू र रोजगारदाताको सम्बन्ध स्थापित गर्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । उनले निजी क्षेत्रका पाँचवटा संस्थाको सहकार्यमा अघि बढेको यो कार्यक्रम भविष्यका लागि समेत उदारहण हुने उल्लेख गरे ।

कार्यक्रममा होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणा, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष सुकुन्तलाल हिराचनले नेपाली श्रम बजारको आवश्यकता र श्रम शक्तिको आपूर्तिको जानकारी दिन यसले सहयोग गर्ने उल्लेख गरे ।

उनीहरूले नेपालमा श्रम शक्तिको आवश्यकताको जानकारी नहुँदा नेपाली श्रमिक विदेश जानुपर्ने र विदेशीहरूले नेपालमा आएर काम गर्नुपर्ने अवस्था रहेको बताए । नेपालमा दीर्घकालीन रूपमा बेरोजगारीको समस्या समाधानका लागि यस कार्यक्रमले सहयोग गर्ने उनीहरूको भनाइ छ ।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालमा प्रतिस्पर्धी र सीपयुक्त जनशक्तिको ठूलो अभाव रहेको उल्लेख गर्दै संस्थागतरूपमा क्षमता विकासमा काम गर्नुपर्ने उल्लेख गरे ।

यस परियोजनाअन्तर्गत निर्माण, कृषि र पर्यटन क्षेत्रसँग सम्बन्धित १०/१० वटा पेशा छनौट गरी ती पेशासँग सम्बन्धित पेशागत मापदण्ड तयार हुनेछ । रोजगारदाता र दक्ष कामदारको प्रत्यक्ष संलग्नतामा पेशागत मापदण्ड तयार गरी त्यसलाई भविष्यमा बजारको मागअनुरूपका पाठ्यक्रम निर्माणका लागि सहयोगी बनाउने परियोजनाको उद्देश्य छ ।

श्रम बजार सूचना प्रणालीको विकासका लागि पनि परियोजनाले काम गर्नेछ । यसअन्तर्गत पाँचवटा छाता संगठनका करिब ३ हजार सदस्य प्रतिष्ठानको सक्रिय सहभागितामा अध्ययन गरिनेछ । यो अध्ययनपछि श्रम बजारको वास्तविक सूचनासहित ‘श्रम बजार सूचना प्रणाली पोर्टल’को विकास गरिनेछ । यस पोर्टलमार्फत नेपालको श्रम बजारको वास्तविक सूचना निजी क्षेत्र, सरकारी निकाय र सरोकारवालालाई महत्त्वपूर्ण हुनेछ ।

यूरोपेली युनियनको आर्थिक सहयोग र ब्रिटिस काउन्सिलअन्तर्गतको दक्षता कार्यक्रमको व्यवस्थापकीय सहयोगमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रममा पाँचवटै छाता संगठनका पदाधिकारी एवं वस्तुगत, प्रदेश र जिल्ला सदस्य संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *