कांग्रेस महाधिवेशनः पोखरा महानगरको मनोनयन आज

पोखरा । वडा अधिवेशन सकिएपछि कास्कीमा पालिका स्तरीय अधिवेसन प्रक्रिया सुरु भएको छ । पोखरा महानगरसहित ५ पालिका रहेको यहाँ २७ गते पालिका स्तरीय कार्यसमिति चयन हुँदै छ ।

त्यसका लागि निर्वाचत अधिकृतको कार्यालयले पोखरामा आज नै मनोनयनको कार्यसूची बनाएको छ । ‘पोखरामा मतदाता धेरै हुनुहुन्छ । अरु पालिकामा जस्तो गरेर भ्याइँदैन भनेर कार्यसूची अघि सारिएको हो,’ निर्वाचन अधिकृत आरसी विमल (रामचन्द्र पौडेल)ले भने, ‘गाउँपालिकामा शनिबार मात्रै मनोनयन दर्ता हुन्छ ।’

पोखरा महानगरको नेतृत्वका लागि हालसम्म ६ जनाको दाबी छ । पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले सबैभन्दा पहिले पत्रकार सम्मेलन गरेर उम्मेदवारी सार्वजनिक गरेका छन् । वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेले पनि सामाजिक सञ्जाल मार्फत आकांक्षा देखाएका छन् । लामो समय पत्रकारिता गरेपछि नगर सभापतिमार्फत सक्रिय राजनीतिमा ‘टर्न’ गर्दैछन्, गंगाधर पराजुली । अर्की पत्रकार ज्योति हमालले पनि उम्मेदवारी दिने घोषणा गरेकी छिन् । पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्र विजुक्छे र अर्का नेता मिलन तिवारी समेत प्रतिस्र्धाको होडमा छन् ।

यद्यपि सबै उम्मेदवार अन्तिमसम्म प्रतिस्पर्धामा नरहने बताइएको छ । माछापुच्छ्रेमा तीनजना प्रवल दाबेदार देखिएका छन् । वडा नम्बर १ का निर्वाचित वडाध्यक्ष वीरेन्द्र गुरुङ, हालका पालिका सभापति मदुसुदन अधिकारी र अर्का नेता रामबहादुर गुरुङ सभापतिको प्रतिस्पर्धामा छन् । रुपा गाउँपालिकामा हाल उपाध्यक्ष उठेर पराजित भएकी गीमाया गुरुङ, नेताहरु खेम गुरुङ, आनन्द सुवेदी र विमल न्यौपानेले दाबी गरेका छन् । यहाँ न्यौपानेलाई सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी छ । यद्यपि अहिलेसम्म सहमति जुटेको छैन ।

मादीमा अर्जुन गुरुङ र ओमप्रकाश गुरुङ उम्मेदवार बन्ने पक्का जस्तै छ । तथा हालका पार्टी संयोजक देवीजंग गुरुङको पनि सम्भावना छ । तथापि सहमतिको प्रयास भइरहेको बताइन्छ । अन्नपूर्णमा मनपति भण्डारी र तरुण दलका पालिका सभापति विजय गुरुङ लगायतले उम्मेदवारी घोषणा गरेका छन् । पोखरा महानगरपालिकामा १ हजार ३ सय ७० जनाले मतदान गर्न पाउने छन् । माछापुच्छ्रेमा १ सय ७३, अन्नपूर्णमा १ सय ९८, मादी १ सय ९२ र रुपामा १ सय ३० जना मतदाता छन् । पालिकाको कार्यसमिति चयन गर्न क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्ने छन् । पालिका सकिएपछि प्रदेश निर्वाचन क्षेत्रको चुनाव हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *