राष्ट्रिय वाणिज्य बैंकद्वारा चार उद्योगलाई अनुदान रकम हस्तान्तरण

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले इनर्जी इफिसियन्सी प्रोग्राम नेपालको अनुदान रकम बिहीबार हस्तान्तरण गरेको छ । जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोग रकम उक्त कार्यक्रमलाई प्रदान गरेको हो ।

बैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिज प्रालिलाई एक करोड रुपैयाँ, प्रिमियर वायर्स प्रालिलाई ९३ लाख ६० हजार तीन सय बीस रुपैयाँ, हुलास स्टील इन्डष्ट्रिज प्रालिलाई ६४ लाख ३७ हजार दुई सय ३१ रुपैयाँ र शालीमार मेटल्स प्रालिलाई ३२ लाख ८ हजार ८ सय रुपैंया रकम हस्तान्तरण गरेको छ । मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेकोले स्वीकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक बुधबार एक समारोहका हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

नेपालका लागि जर्मन राजदूतवास विकास सहयोगका उपप्रमुख सिमोन म्याक्समिलन हिन्केले चेक हस्तान्तरण गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले सम्झौतापत्र आदानप्रदान गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे । उनले हालसम्म २१ वटा उद्योगहरुलाई ९ करोड ९२ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए ।

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले इनर्जी इफिसियन्स प्रोग्राम नेपाल आयोजना कार्यान्वयनका लागि प्रोजेक्ट एक्ज्युकेटिङ एजेन्सीको रुपमा सहायता सम्बन्धी काम गर्दै आएको छ ।

यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ । यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधिभित्र रही अधिकतम रु. १ करोडसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।

उक्त समारोहमा इनर्जी इफिसियन्सी÷जीआइजेडका प्रमुख सल्लाहकार फ्राङ्क बुमर, केएफडब्ल्यु काठमाडौंका प्रतिनीधि निरज सुवेदी, बैंकका विभागीय नायब पमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख विनयरमण पौडेल, उप प्रबन्धक होमराज भट्टराई, एडेल्फीका कन्सल्टेण्ट ज्ञानेन्द्र उपाध्यायलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *