बेचिएर फर्किएका महिलाहरुले मनाए तीज

पोखरा । लैङ्गिक हिंसा तथा मानव बेचबिखनमा परेर उद्धार गरिएका महिलाहरुले तीज मनाएका छन् । विभिन्न ठाउँबाट उद्धार गरेर राखिएको पोखरास्थित थ्री एन्जल्स नेपालमा उनीहरुले तीज मनाएका हुन् । संस्थाले पीडितहरुलाई दर खुवाएको छ ।

तीजकै अवसरमा हिंसा पीडित र बेचिएका महिलाहरुको अवस्थाबारे बुझ्न गण्डकीका सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले थ्रि एन्जल्स नेपालको अवलोकन गरेका छन् । उनले बेचिएर फर्किएकाहरुसँग अन्तरक्रिया पनि गरेका छन् ।

‘यो काम सरकारको हो । सामाजिक संस्थाहरुले पनि यति उल्लेख्य काम गरेर देखाएका छन् । निकै खुसी लाग्यो,’ उनले भने, ‘सरकार तपाईंहरुसँग हातेमालो गर्न तयार छ । पीडितहरुलाई समाजमा पुनः स्थापना गर्न सरकार तत्पर छ ।’ उनले पुनः स्थापना केन्द्रमा बसेका महिलाहरुलाई सीप मार्फत स्वरोजगारका कार्यक्रममा जोड्ने बताए ।

थ्रि एन्जल्स नेपालका अध्यक्ष शारदा खत्री गौतमले उद्धार रोकथाम र पुनः स्थापनामा सरकारी समिति पनि आवश्यक रहेको बताइन् । संस्थाले मानव बेचबिखन रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ भने प्रहरीसंगको साझेदारीमा उद्धार समूह परिचालन तथा पुनः स्थापनाका लागि विभिन्न सीपमूलक तालिम तथा सहकारी, लघुवित्त र पुनः स्थापना केन्द्र सञ्चालन गरिरहेको छ । सोही ठाउँमा बालगृह र विद्यालय समेत सञ्चालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *