पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी र हरित लगानीमा जाेड

काठमाडौँ। लगानी बोर्डको १०औं वार्षिकोत्सवको अवसरमा दिगो पूर्वाधार विकास तथा सार्वजनिक निजी साझेदारी अवधारणा मार्फत पूर्वाधार विकासका अवसर र चुनौतीबारे दुईवटा बेग्लाबेग्लै सत्रहरु संचालन भए । राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. विश्वनाथ पौडेलको अध्यक्षतामा ‘नेपालमा दिगो पूर्वाधारको विकास’ विषयमा पहिलो सत्र सम्पन्न भयो ।

उक्त सत्रमा एशियाली पूर्वाधार लगानी बैंकका पूर्वाधार लगानी विकास महानिर्देशक रजत मिश्रले विशेष सम्बोधन गरेका थिए । सत्रमा काठमाडौं विश्व विद्यालयका उपकुलपति प्रा.डा. भोला थापा, अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा, अन्तर्राष्ट्रिय वित्त निगम (विश्व बैंकका आवाशीय प्रतिनिधि बबाकर शेदिख फाय बेलायती दूतावास स्थित दिगो विकासका प्रमुख एवम् उपनिर्देशक हेइदी ताभाकोली र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपालमा वातावरणिय दृष्टिकोणले दिगो पूर्वाधार विकास हुनुपर्नेमा जोड दिए ।

त्यसैगरी नेपाल जस्तो मुलुकमा प्राकृतिक प्रकोप ज्यादा हुने भएकोले प्राकृतिक प्रकोप सामना गर्न सक्ने पूर्वाधारको निर्माण गर्नु पर्नेमा जोड दिएका थिए ।

यसैगरी नेपालको आर्थिक विकासमा सडक संजालको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएतापनि यहाँका सडक पूर्वाधार कमजोर रहेकाले सरकारले गुणस्तरीय यातायात पूर्वाधार विकासमा जोड दिनुपर्ने वक्ताहरुको सुझाव थियो ।

यसैगरी बक्ताहरुले जलवायू परिवर्तनले पार्ने प्रभावलाई न्यूनीकरण गर्न हरित जलवायू कोषमा नेपालको पहुँच बढाउनु पर्नेमा समेत जोड दिए । सत्रमा लगानी बोर्ड कार्यालयका सिनियर डिभिजनल इन्जिनियर सागरराज गौतमले सहजीकरण गरेका थिए ।

यस सत्रले नेपालमा हरित र दिगो पूर्वाधारको विकासका सम्भावना, वर्तमान कानूनी व्यवस्थाहरु, लगानीका अवसरहरु तथा चुनौति एवम् सार्वजनिक–निजी साझेदारी लगायत परियोजना विकासका संयन्त्रहरु, आपसी सहकार्यका सम्भावनाहरुबारे व्यापक छलफल गर्ने अवसर प्रदान गर्यो ।

यसैगरी, दोस्रो सत्र ‘नेपालको आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारीको विकास र व्यबस्थापन’ विषयमा अर्थ सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा सम्पन्न भयो ।

कोभिडका कारण विश्वभर नै लगानी घटिरहेको र कतिपय लगानीकर्ताहरु नयाँ लगानीको गन्तव्य खोजी गरिरहेको अवस्थामा नेपालले त्यस्ता लगानीकर्ताहरुलाई सार्वजनिक(निजी साझेदारीका परियोजनाहरुमा आकर्षित गर्नुपर्ने विषयलाई मध्यनजर गरि यो सत्र छनौट गरिएको हो ।

उक्त सत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्मा, विश्व बैंकका देशीय निर्देशक फारिस हदद् जेरभोस, एशियाली विकास बैंकका देशीय निर्देशक आर्नो कास्वा , लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्त र उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले वक्ताका आफ्ना विचार राखे ।

वक्ताहरुले नेपालमा सार्वजनिक निजी साझेदारीका परियोजना अगाडि बढाउन सरकार, निजीक्षेत्र तथा स्थानीय सरकार र स्थानीय समुदायहरुबीच समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

उक्त सत्र लगानी बोर्डको कार्यालयका उपसचिव रमेश अधिकारीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *