पैसा खाएर एमसीसीको विरोध भयो : पाण्डे

पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले एमसीसीको विरोध गर्नेहरू कतैबाट परिचालित भएको आरोप लगाएका छन् ।

‘कतै यो पैसा दिने र पैसाको विरुद्धमा विरोध सञ्चालन एउटै सेन्टरले गरिराको त छैन ? मेचिदेखि महाकालीसम्म मान्छे दौडेर जुन विरोध भइरहेको छ, घरको खर्च गरेर हिँडेको छैन,’ उनले भने, ‘योभित्रको राजनीति के छ मैले बुझेको छैन । के सन्दर्भमा यत्रो धेरै राजनीति गरिराख्या हुन् ?’

पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले एमालेभित्र पनि संशोधनसहित एमसीसी पास गर्ने छलफल भइरहेको बताए । ‘झलनाथ खनालको कार्यदलले एमसीसी फेल गर्नुपर्ने भनेन । राष्ट्रलाई आघात पुग्ने खालका विषय सुधारसहित पास गर्न सकिन्छ भनियो,’ उनले थपे, ‘कार्यदलले दिएको सुझावमा छलफल हुँदै भएन । संसदमा टेबुल पनि भएको छैन । छलफल भएको छैन, सडकमा मात्रै बहस भएको छ ।’ उनले यसलाई संसदमा छलफलको विषय बनाउनुपर्ने तर्क गरे ।

पार्टी विभाजन दोस्रो तहको नेताहरूका कारण भएको उनको भनाइ छ । ‘दोस्रो तहका नेताहरू शीर्ष नेताहरूको पछाडि लाग्नु नै कमजोरी भयो । कोही माधव, झलनाथ वा वामदेवको पछि नलागेको भए हामीले विभाजन रोक्न सक्थ्यौँ,’ उनले भने, ‘पछिल्लो प्रयास पनि पोहोर नै गर्नुपर्ने रहेछ । पार्टी विभाजन गर्नुहुँदैन भनेर लागेको भए विभाजन नहुने रहेछ ।’

उनले १० बुँदे कार्यान्वयनसँगै एमाले २०७५ जेठ २ मा फर्किएको दाबी गरे । पार्टी पहिलेकै अवस्थामा फर्किँदा समेत माधव नेपाल पक्षले पार्टी फुटाउन गम्भीर गल्ती भएको उनले सुनाए ।

‘मुलभूत रुपमा एमाले जेठ २ मा फर्किएको छ । माधव नेपालकै प्रस्तावअनुसार १० बुँदे सहमति भएपनि पार्टी उहाँले नै फोर्नु निकै कष्टकर र दुखद् हो,’ पाण्डे भन्छन्, ‘माओवादीबाट आउनुभएका नेताहरूलाई पनि कहिँ न कहिँ एडजस्ट गर्नुपर्नेछ । त्यो काम पनि करिब भएको छ ।’ तर अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पोखरामै एमाले जेठ २ मा फर्किन नसक्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *