काठमाडौंसहित २३ जिल्ला साक्षर हुन बाँकी (सूचीसहित)

काठमाडाैँ । नेपालमा पनि भर्चुअल र अन्य माध्यमबाट आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । ‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ मनाइने दिवसमा कोभिड-१९ का कारण भौतिक उपस्थितिका कार्यक्रम राखिएको छैन ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दिवसका अवसरमा आज भक्तपुरमा वृक्षरोपण कार्यक्रम तय गरेको छ । हाल १५ वर्षभन्दा माथिको उमेर समूहको साक्षरता ६७ दशमलव नौ प्रतिशत छ । सोही समूहका पुरुषको साक्षरता प्रतिशत ७८ दशमलव छ प्रतिशत र महिलाको साक्षरता प्रतिशत ५९ दशमलव सात प्रतिशत रहेको छ ।

मुलुकका ५४ जिल्ला साक्षर घोषित भइसकेका छन् । कुल २३ जिल्ला र दुई सय १८ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको छ । हाल ३५ हजार ६७४ कुल विद्यालय रहेकामा २७ हजार ८१८ सामुदायिक विद्यालय, छ हजार ७३२ संस्थागत (निजी) र एक हजार एक सय ३० परम्परागत (धार्मिक) विद्यालय रहेको केन्द्रले जनाएको छ ।

साक्षर घोषणा हुन बाँकी २३ जिल्ला यी हुन्
प्रदेश-१ को ताप्लेजुङ र सोलुखुम्बु साक्षर घोषणा हुन बाँकी छन् भने बागमती प्रदेशमा काठमाडौं अझै साक्षर घोषणा भएको छैन । जबकि काठमाडौं देशमै सबैभन्दा बढी जनसंख्या भएको जिल्ला मात्र होइन मुलुककै राजधानी पनि हो । नेपालको पहिलो महानगरपालिका काठमाडौं पनि गत साता मात्र साक्षर घोषणा भएको थियो ।

यसैगरी, प्रदेशऔ२ मा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला अझै साक्षर घोषणा हुन सकेका छैनन् । लुम्बिनीमा कपिलवस्तु र बाँके, कर्णालीमा मुगु, जुम्ला, हुम्ला, कालीकोट र डोल्पा तथा सुदूरपश्चिममा कैलाली, कञ्चनपुर, डोटी, बाजुरा र बझाङ साक्षर घोषणा हुन सकेका छैनन् । यी २३ जिल्लाका २७० मध्ये २१८ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *