गण्डकीका ३६ जनप्रतिनिधिले छोडे एमाले 

पोखरा । गण्डकी प्रदेश माधव समूहका लागि पहिलै कमजोर हो । एमालेभित्र पनि ओली समूहको पकड छ । भदौ २ गते पार्टी विभाजन भएपछि २२ गतेसम्मका लागि स्थानीय र प्रदेशका जनप्रतिनिधिले पार्टी रोज्न पाउने समय तोकिएको थियो ।

माधव कुमार नेपाल नेतृत्वका नेकपा (एकीकृत समाजवादी)मा गण्डकीका ३६ जनप्रतिनिधिले सनाखत गरे । २७ प्रदेश सदस्यमध्ये कोही पनि एमालेको विभाजनमा लागेनन् । स्थानीय तह अन्तर्गत एक जना गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष ११, कार्यपालिका सदस्य ८ र वडा सदस्य १५ तथा जिल्ला समन्वय समिति सदस्य १ जना छन् । सबैभन्दा धेरै तनहुँमा १३ जनाले एकीकृत समाजवादी रोजेका छन् ।

शुक्लागण्डकी नगरपालिका ३ का अध्यक्ष रामकुमार श्रेष्ठ, ५ का अध्यक्ष दीर्घबहादुर थापा, ७ का अध्यक्ष रामजी क्षेत्री र ११ का अध्यक्ष दलबहादुर थापा नेकपा एसमा लागेका हुन् । सोही नगरको कार्यपालिका सदस्य सानुमाया महत, वडा नम्बर ११ का वडा सदस्यहरु रिता भुजेल, थमनसिंह आले र डोलमाया विक छन् । वडा नम्बर ५ का वडा सदस्य थम बहादुर आले र वडा नम्बर ९ का सदस्य दिल बहादुर थापाले पनि नयाँ पार्टी रोजे । आँबुखैरेनी ६ का वडा सदस्य सन्जय गुरुङ तथा व्यास ४ का वडा अध्यक्ष विश्वनाथ न्यौपाने र सदस्य मनबहादुर गुरुङले नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।

कास्कीका ४ जना नयाँ पार्टीमा खुलेका छन् । २ सय ८२ जना निर्वाचित जनप्रतिनिधिमध्ये २ जना कार्यपालिका सदस्य र २ जना वडा सदस्य छन् । मादी गाउँपालिकाका कार्यपालिका सदस्य नरबहादुर लामा र माछापुच्छ्रे गाउँपालिकाका कार्यपालिका सदस्य लालबहादुर परियार तथा माछापुच्छ्रे ७ का सदस्य बाबुराम भण्डारी र रुपा ५ का सदस्य दामोदर भण्डारी पनि विभाजनको पक्षमा देखिए ।

गोरखामा दुई वडाध्यक्ष सहित तीन जनप्रतिनिधि नयाँ पार्टीमा लागेका छन् । आरुघाट गाउँपालिका ३ का अध्यक्ष श्रीवल बराम र ५ का वडाध्यक्ष नारायणध्वज खड्का तथा गोरखा नगरपालिका ८ की वडा सदस्य कल्पना नेपालीले नेकपा एसको पक्षमा सनाखत गरेका हुन् । बागलुङबाट २ वडाध्यक्ष र २ सदस्य गरि चारजना जनप्रतिनिधिले नेकपा ९एकीकृत समाजवादी० रोजे । बागलुङ नगरपालिका २ का वडाध्यक्ष जीवन आचार्य र ढोरपाटन नगरपालिका ९ का वडाध्यक्ष हरिबहादुर घर्ती तथा सोही वडाकी वडा सदस्य यामु कामी र बागलुङ नगरपालिका १० की महिला सदस्य सीता थापाले एकीकृत समाजवादी छानेका हुन् ।

म्याग्दीमा नेकपा एमालेबाट निर्वाचित तीन जना जनप्रतिनिधिले एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । बेनी नगरपालिकाका कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, दुर्गा कार्की बानियाँ र धवलागिरि गाउँपालिकाका कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालले नयाँ पार्टीमा सनाखत गरेका हुन् ।

स्याङजामा गाउँपालिका उपाध्यक्ष सहित ७ जनाले विभाजनको पक्षमा सनाखत गरेका छन् । आँधिखोला गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेल पार्टीको केन्द्रीय सदस्य हुन् । आँधीखोला २ का वडाध्यक्ष रामचन्द्र पौडेल, कार्यपालिका सदस्य खड्कबहादुर नेपाली र विन्दु विक, हरिनास गाउँपालिका ७ का सदस्य ऋषिराम लम्साल, जिल्ला समन्वय समितिका सदस्य गुमनसिंह थापा र पुतलीबजार नगरपालिका ४ का सदस्य डोलराज गौतम एकीकृत समाजवादीमा लागेका हुन् ।

पर्वतमा २ जना मात्रै नयाँ पार्टीमा लागेका छन् । कुश्मा १४ का अध्यक्ष भीमबहादुर गुरुङ र सोही पालिकाका एकजना वडा सदस्यले एकीकृत समाजवादीमा खुलेका हुन् । लमजुङ, मनाङ, मुस्ताङ र नवलपुरमा नयाँ पार्टी रोज्ने जनप्रतिनिधि शून्य छन् । कोही पनि सनाखत नगरेका जिल्ला निर्वाचन कार्यालयहरुले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *