कास्कीमा कांग्रेस अधिवेशन : पुरुषकै कब्जामा वडा नेतृत्व, दलित पनि शून्य

पोखरा । १४ औँ महाधिवेशनका लागि कास्कीमा वडा अधिवेशन सकिएको छ । कास्कीबाट २०१९ जना क्षेत्रीय प्रतिनिधि र वडा समिति चयन गरिएको छ । अधिकांश वडा सर्वसम्मत चयन भयो । तर‚ महिला नेतृत्व कुनै पनि वडाले पाउन सकेन ।

७२ वडामा महिला नेतृत्व शून्य छ । तर क्षेत्रीय प्रतिनिधि र अनिवार्य गरिएको वडा कार्यसमितिमा मुस्किलले उपस्थिति जनाएका छन् । ३३ वडा रहेको पोखरा महानगरपालिकामा प्रत्यक्षतर्फ १ सय ६५ जना महिला निर्वाचित भएका छन् ।

त्यसमा खस-आर्यबाट ३०, आदिवासी जनजातिबाट २५, मधेशी १, दलित ९ र मुस्लिम १ जना निर्वाचित भएका हुन् ।

तोकिएको समावेशी संख्याभन्दा बढी महिलाहरू निर्वाचित भएपनि निर्णायक तहमा उपस्थिति नदेखिएको निर्वाचन अधिकृत आरसी विमल (रामचन्द्र पौडेल) ले बताए । ६६ जना महिला आवश्यक पर्ने पोखरामा तेब्बर बढी निर्वाचित भए ।

१२ वडा रहेको मादीमा २४ स्थानमध्ये ६० जना निर्वाचित भएका छन् । अन्नपूर्णमा ५५, माछापुच्छ्रेमा ४५ र रुपामा ३५ महिला निर्वाचित भएको तथ्याङ्क छ ।

कांग्रेस नेतृ सरस्वती गुरुङ अहिलेको उपलब्धि सम्मानजनक भएपनि महिला नेतृत्वमा नहुँदा दुःखी छिन् । ‘विधानमा नभएको भए यत्ति पनि आउने थिएनन् । अनिवार्य गरिएको कोटामा महिलाहरू आएका छन् । ७२ वटै वडामा नेतृत्व नहुनु दुःखद हो,’ उनले भनिन्, ‘यो समाजको निरन्तरताले अझै छाडेन । महिलाले महिलाको नेतृत्व पनि स्वीकार्न गाह्रो छ । त्यहि संस्कारको उपज हो । महिलाहरूले आँट गर्न सक्नुभएन ।’ पूर्णकालीन राजनीतिमा महिलाको उपस्थिति नभएका कारण पनि नेतृत्वमा भेट्न नसकिएको उनले सुनाइन् ।

‘महिलाहरू घर र व्यापारमै व्यस्त हुनुहुन्छ । भोट बैंकको रुपमा मात्रै परिचालित हुनुभयो,’ उनी भन्छिन्, ‘यसलाई चिर्न ठूलै संघर्ष गर्नुपर्छ । मूलधारमा आउन केही त पक्कै गर्नुपर्छ ।’ महिला संघ कास्कीकी सभापति कोपिला रानाभाट नेतृत्वमा महिलालाई स्वीकार्ने वातावरण नै नबनेको बताउँछिन् । ‘कतिपय ठाउँमा महिलाहरूले नै चाहना गरेनन् । चाहना गरेका ठाउँमा पनि सहमतिको नाममा महिलालाई पछाडि राखियो । कम्परमाइजमा महिला नै परे,’ उनले भनिन्, ‘पुरुषहरूलाई महिलाको नेतृत्व स्वीकार्नै गाह्रो छ । सक्षम महिला हुँदा पनि उनको नाम कसैले लिँदैनन् ।’

यद्यपी क्षेत्रीय प्रतिनिधिमा महिलाहरूको उपस्थिति सम्मानजनक भएकाले माथिल्लो नेतृत्वमा दाबी गर्न सक्ने उनको विश्वास छ । त्यसो त महिलाहरूले उम्मेदवारीसमेत खासै दिएनन् । वडा नम्बर ८ मा शारदा गिरीले सभापतिमा उम्मेदवारी दिएकी थिइन् । सहमतिमा कार्यसमिति चयन गर्दा उनी पछि परिन् । महिलामात्रै होइन, कास्कीका वडा नेतृत्वमा दलित पनि शून्य छ ।

आदिवासी जनजाति पनि नेतृत्वमा उल्लेख्य छैनन् । रुपामा ३ जना वडा सभापति आदिवासी जनजातिबाट निर्वाचित भए भने माछापुच्छ्रेमा ५ वडाको नेतृत्व आदिवासी जनजातिले गरेका छन् । अन्नपूर्णमा ५ जना र मादीमा ५ जना आदिवासी जनजाति नेतृत्वमा छन् ।

सबैजसो गुरुङ समुदायबाट छन् । पोखरा महानगरपालिकामा पनि ४ वटा वडामा मात्रै आदिवासी जनजाति छन् ।

स्थानीय तहको निर्वाचनमा पनि कास्कीबाट १ जनामात्रै महिला वडाध्यक्ष निर्वाचित भएका थिए । कुनै पनि पालिकामा प्रमुख निर्वाचित भएनन् । ठूला राजनीतिक पार्टीहरूले महिलालाई नेतृत्वमा टिकट नै दिएका थिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *