पञ्च वर्षीय रणनीतिक योजना सार्वजनिक गर्दै लगानी बोर्ड

काठमाडाैँ ।  लगानी बाेर्डले स्थापनाकाे दशाैँ वर्षगाँठकाे अवसरमा  पाँच वर्षे व्यावसायिक योजना सहितको रणनीतिक योजना (२०७८/८२) सार्वजनिक गरिने भएको छ । वि.सं. २०६८ सालमा स्थापना भएको बोर्डले भदौ २३ गते ‘लगानी बोर्डको १० वर्षः आर्थिक समृद्धिका लागि साझेदारी’ को मूल नाराका साथ दशौँ वार्षिक उत्सव मनाउन लागेकाे हाे । कार्यक्रममा लगानी बोर्डले तयार गरेको उक्त रणनीति सार्वजनिक गर्ने जनाएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले उक्त रणनीतिक योजनाका साथै नेपाल इन्भेष्टमेन्ट गाइड, २०२१ र कफी टेवल बुक समेत सार्वजनिक गर्ने कार्य तालिका रहेकाे बाेर्ड कार्यालयले जनाएकाे छ ।

दशौँ वार्षिकोत्सव उद्घाटन सत्रमा विशेष अतिथि अर्थमन्त्री एवम् लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भूसाल रहने छन् ।

त्यस्तै, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, विश्व बैंकका पूर्वाधार हेर्ने क्षेत्रीय निर्देशक ग्वाङझे चेन, नेपालका लागि बेलायती राजदूत निकोला पोलिट, वल्र्ड एसोसिएसन अफ पीपीपी युनिट एन्ड पीपीपी प्राफेसनल्सका अध्यक्ष जीयाद अलेक्जेन्डर ह्याक (स्वीट्जरल्यान्ड), सतलज जलविद्युत् निगम भारतका अध्यक्ष तथा प्रबन्ध निर्देशक नन्दलाल शर्मा, हङकङ रेड लाइन नं. ३ कम्पनी लिमिटेडढका अध्यक्ष झ्याङ सिआवहुलगायतले मन्तव्य राख्ने कार्यक्रम रहेको बोर्डले जनाएको छ

बाेर्डका अनुसार कार्यक्रममा लगानी बोर्डबाट सहजीकरण भइरहेका परियोजनाहरुका विकासकर्ता, लगानीकर्ता, विकास साझेदार तथा लगानी बोर्डसँग आवद्ध विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिने छ ।

उद्टन समारोहपछि दिगो पूर्वाधार विकास तथा सार्वजनिक–निजी साझेदारी लगानीका सम्भावनामा केन्द्रित भई दुईवटा छलफल सत्रहरु सञ्चालन हुनेछन् ।

कोभिड–१९ को महामारी पछिको आर्थिक अवस्था तथा जलवायु परिवर्तनको विश्व परिदृश्यमा सरकारले दिगो पूर्वाधार विकासमा जोड दिइरहेको सन्दर्भमा ‘नेपालमा दिगो पूर्वाधारको विकास’ विषयमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. विश्व पौडेलको अध्यक्षतामा पहिलो सत्र सञ्चालन हुनेछ। उक्त सत्रको छलफलबाट नेपालमा हरित र दिगो पूर्वाधारको विकासका सम्भावना, वर्तमान कानूनी व्यवस्थाहरु, लगानीका अवसरहरु तथा चुनौती एवम् सार्वजनिक–निजी साझेदारी लगायत परियोजना विकासका संयन्त्रहरु र आपसी सहकार्यका सम्भावनाहरु पहिचान गर्ने अवसर प्राप्त हुनेछ ।

त्यसैगरी, अर्थ सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा ‘नेपालको आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारीको विकास र व्यबस्थापन’ दोस्रो सत्र सञ्चालन हुनेछ । उक्त सत्रले नेपालमा सार्वजनिक–निजी साझेदारीमा लगानी परिचालनका विविध पक्षहरु, लगानी योग्य तथा विश्वासनीय परियोजनाको विकास तथा व्यवस्थापन, नेपालमा सार्वजनिक–निजी साझेदारी परियोजनाका सम्भावना र चुनौतीहरु तथा परियोजनाहरुको विकासका लागि सरोकारवालाहरुसँग सहकार्यको सम्भावनाहरुबारे छलफल गर्ने अवसर प्रदान गर्नेछ।

वार्षिकोत्सव कार्यक्रममा स्वास्थ्य मापदण्ड अपनाइ भौतिक रुपमा तथा डिजिटल प्लेटफर्म मार्फत नेपाल सरकारका उच्च अधिकारीहरु, नेपालस्थित कुटनीतिक नियोगहरु, विदेशस्थित नेपाली नियोगहरु, अन्तर्राष्ट्रिय लगानीकर्ताहरु, विकास साझेदारहरु, जन प्रतिनिधिहरु, परियोजना विकासकर्ताहरु, निजीक्षेत्र, विज्ञहरु तथा सञ्चारकर्मीहरु लगायतको सहभागिता रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *