राष्ट्र बैंकलाई सेयर लगानीकर्ताको ज्ञापन पत्र

काठमाडौँ। पूँजी बजारका लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई ज्ञापनपत्र बुझाएका छन् । मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले ल्याएको नीतिकै कारण नेपालको सेयर बजार ओरालो लाग्न थालेको भन्दै उनीहरुले पूँजी बजार सुधारका लागि विभिन्न मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै पुतलीसडक स्थित शंकरदेव कलेजबाट नारावाजीसहित उनीहरु राष्ट्र बैंकको प्रधान कार्यालय घेराउ गर्न बालुवाटार पुगेका थिए । राष्ट्र बैंकको प्रधानकार्यालय निशेधित क्षेत्र भएकोले उनीहरु भित्र प्रवेश गर्नबाट बञ्चित भएका थिए । गट बाहिरै धर्ना बसेका उनीहरुले प्रवक्ता ढकाललाई मागपत्र बुझाएर फर्किएका छन् ।

सेयर धितो कर्जामा राष्ट्र बैंकले लगाएको नयाँ सीमा वा कडाइले बजार घटेको उनीहरुले आरोप लगाउँदै आएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एकजना लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँसम्म र समग्र बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्रै ऋण लिन पाउने व्यवस्था गरेको छ ।

उक्त व्यवस्थालाई थप स्पष्ट पार्दै कार्यान्वयनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेपछि सेयर बजार ओरालो लागेको थियो । लाभांश वितरणमा समेत राष्ट्र बैंकले कडाइ गरेको छ ।

उक्त कडाइलाई खुकुलो गर्नुपर्ने, कर्जा नोक्सानी, लाभांस वितरण पूँजीगत लाभकरलगायतका विषय खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *