अन्य पालिकामा दर्ता भएका सिटी सफारीले विराटनगर प्रवेश नपाउने

विराटनगर । सिटी सफारी तथा अटो रिक्साका कारण विराटनगरको अवस्था अस्तव्यस्त छ । विगत ५ वर्षदेखि अत्याधिक रुपमा बढेको सिटी तथा अटोको कारण विराटनगरको ट्राफिक व्यवस्थापन समस्याग्रस्त छ । विराटनगर महानगरपालिकाले सिटी रिक्साका कारण सवारी जाम बढेको भन्दै छिमेकी गाउँपालिकामा दर्ता भएका अटो तथा सिटीलाई महानगरपालिकामा प्रवेश रोकेको हो ।

महानगर क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या आउन थालेपछि त्यसको न्यूनीकरणको लागि छिमेकी पालिकाबाट यात्रु बोकेर विराटनगर आउने सिटी रिक्सालाई आजदेखि  प्रतिबन्ध लगाइने भन्दै सूचना जारी गरेको छ । महानगरपालिकाले यातायात व्यवस्था कार्यालयको इजाजत पत्र र स्थायी बसोबासको आधार मानेर रुट कायम गर्ने तयारी गरेसँगै अब बाहिरी पालिकामा दर्ता भएका सिटी तथा अटोले विराटनगर महानगरपालिकामा प्रवेश पाउने छैनन् ।

प्रदेश सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ तथा प्रदेश सवारी तथा यातायात नियमावली २०७७ र विराटनगर यातायात व्यवस्थापन कार्यविधि २०७७ अनुसार अन्य पालिकाबाट प्रवेश गर्ने सिटी सफारीलाई रुट परमिट नदिने निर्णय गरेको विराटनगर महानगरपालिका राजश्व प्रशासन महाशाखा प्रमुख राजेन्द्र प्रधानले बताए । महानगरपालिकाले गत भदौ १० गतेदेखि यही ऐन, नियमावली र कार्यविधिमा टेकेर तीन पाङग्रे सवारीको नवीकरण, रुट इजाजत, चालक अनुमति पत्र तथा जाँच पासको काम महानगरपालिकाबाट नै गर्दै आएको छ ।

विराटनगर महानगरपालिका मात्रै ४ हजार ४ सय सिटी सफारी रहेको अनुमान गरिएको छ । महानगरको दर्ता प्रक्रियाभित्र प्रवेश गरेपछि यसको यकिन संख्या आउने प्रधानले बताए । छिमेकी पालिकाबाट समेत सिटी सफारी प्रवेश गर्दा महानगरको ट्राफिक व्यवस्थापन चुनौती भएकोले सर्वपक्षीय हितका लागि यस्तो निर्णय गरिएको महानगरले जनाएको छ ।

निर्णय सच्याउन माग 
महानगरको निर्णयको विरोधमा केही सिटी तथा अटो चालकहरु आन्दोलित भएका छन् । विराटनगर महानगरपालिकाले तत्काल निर्णय सच्याउनुपर्ने माग गर्दै सिटी सफारी चालक संघका अध्यक्ष एवं कटहरी-जहदा सिटी सफारी चालक संयुक्त संघर्ष समिति बनाएका छन् ।

संघका  संयोजक काशीराम राजवंशीले महानगरपालिकामा प्रवेश गर्ने सफारीलाई निषेध गर्ने निर्णयले रोजगारी खोसिएको गुनासो गरे । यसअघिसम्म विराटनगर महानगरपालिका भित्र प्रवेश गर्ने सिटी सफारीले दैनिक १० रुपैयाँ सवारी कर बुझाउँदै आएका थिए ।

महानगरपालिकाले हाटखोला, बरगाछी र केशलियामा ढाट राखेर छिमेकी पालिकाबाट प्रवेश गर्ने सिटी सफारीका चालकसँग १० रुपैयाँ कर असुल्ने गरेको  संघर्ष समितिका सह–संयोजक दीपक मण्डल राजवंशीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *