नेप्सेमा ९ महिनायताकै भारी गिरावट, बजार घट्नुमा यस्तो छ कारण

काठमाडौँ । सेयर बजारमा आइतबार ९ महिनायताकै भारी गिरावट आएको छ । यस दिन १०८.२६ अंक(३.७ प्रतिशत)ले बजार घटेर २८१८.७२ बिन्दुमा नेप्से परिसूचक समेटिएको छ ।

अझ कारोबारको २ घण्टा नपुग्दै १४७ अंक(५.०३) प्रतिशतले बजार घटेपछि ४० मिनेट कारोबार रोकिएको (सर्किट ब्रेक लागेको) थियो । रोकिएर पुनः शुरु भएको कारोबारपछि बजार ३९ अंकले बढेर बन्द भएको थियो । यसले गर्दा बजार १०८ अंकले मात्रै खस्किन पुग्यो ।

यसअघि गत मंसिर २१ गते नेप्से परिस्सूचक १२३ अंकले घटेको थियो । त्यसयता सबैभन्दा बढी १६ फागुनमा ८० अंकले घटेको थियो ।

लगानीकर्ताहरुले भने सेयर बजारका लागि कर्जालगायतका व्यवस्थामा राष्ट्र बैंकले ल्याएको नयाँ नीति जिम्मेवार रहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

सेयर लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वमा पूँजीबजार सुधार संघर्ष समिति गठन गरेर उनीहरु आन्दोलित हुने तयारी समेत गरेका छन् । यसै क्रममा उनीहरुले नेप्सेमा भारी गिरावट आएपछि लगानीकर्ताले सेयर लगानीकर्ता सेयर धितोमा दिइने कर्जामा गरिएको कडाई हटाउन माग गर्दै राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाउने तयारी समेत गरेका छन् ।

शेयर धितो कर्जामा कुनै एक बैंक तथा वित्तीय संस्थाले एक व्यक्ति वा संस्थालाई ४ करोड रुपैयाँसम्म दिन पाउने र पुरै बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी कर्जा दिन नपाउने व्यवस्था गरेको छ ।

यस्तो व्यवस्था राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको हो । यद्यपी, मौद्रिक नीतिमा रहेको व्यवस्थालाई अझ स्पष्ट पार्दै कार्यन्वयनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेपछि भने त्यसको असर सेयर बजारमा देखिएको उनीहरुको बुझाइ छ ।

किन घट्यो त सेयर बजार ?

सेयर बजारको प्रवृत्ति नै के हो भने यो अनन्तकालसम्म निरन्तर एउटै दिशामा अघि बढ्दैन । साताभित्रै हुने कारोबार दिनमा पनि कुनै दिन बढ्छ भने कुनै दिन सामान्य करेक्सन (सामान्य गिरावट) देखिन्छ । यद्यपी समग्र बजार वा परिसूचकले भने केही महिनाको अन्तरालपछि आफ्नो यात्राको दिशा परिवर्तन गदर्छ ।

केही महिना वा वर्ष उकालो लागेपछि ओरालो लाग्नु र ओरालो लागेको बजार केही समयमा उकालो लाग्नु सेयर बजारको प्रवृत्तिगत विशेषता (सामान्य) नै मानिन्छ । यस पटक पनि लामो समयदेखि उकालोतर्फ अघि बढिरहेको बजारमा अहिले ठूलाे गिरावट देखिएकाे हाे ।

बजार ओरालो लाग्नुमा भने विभिन्न कारकले काम गरेका छन् ।

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली भन्छन्, ‘लगानीकर्ता हतास मनस्थितिमा रहेकाले सेयर बजार उच्च अंकले घटेको हो । राष्ट्र बैंकको नीतिबाहेक अरु पनि थुप्रै कारण छन् ।’ सेयर धितोमा बैंक वित्तीय संस्थाले स्टक ब्रोकर कम्पनीमार्फत कर्जा वितरणको व्यवस्था गर्दा बजारमा सुधार देखिने पनि ब्रोकरहरुले दाबी गर्दै आएका छन् ।

सेयरधितोमा राष्ट्र बैंकले गरेको कर्जाको सीमामा कडाई, बैंकिङ प्रणालीमा तरलता कम हुँदै जानु, कोभिडको प्रभाव कम भएर लगानीका अन्य क्षेत्रहरु विस्तारै सुचारु हुँदै जानु, जलविद्युत् क्षेत्रका लगानीकर्ताले सेयर बिक्री गरेर बाहिरिनु जस्ता कारणले पनि बजार घटाउन भूमिका खेलेको सेयर बजारका विश्लेषकहरुको भनाइ छ ।

कर्जा सीमाबारे राष्ट्र बैैंकको परिपत्रका कारण हातास (पेनिक) भएर आएर कतिपय लगानीकर्ताले घटेरै भए पनि नाफा बुक गरिरहेकोले पनि बजार घटेको विश्लेषकहरु बताउँछन् ।

नेपालको सेयर बजारमा ठूला लगानीकर्ताको चलखेलले पनि बजार घट्ने र बढ्ने गर्दै आएको छ । त्यसतर्फ पनि ध्यान दिनुआवश्यक भएको देखिएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *