रेल्वेमा नयाँ जीएम : बिनाकाम तलब खाने एक सय ५१ कर्मचारी हटाइए

जनकपुरधाम । रेल सञ्चालनको कुनै टुङ्गो नभएपनि बिनाकाम तलब भत्ता बुझ्ने गरेको जनकपुर-जयनगर रेल्वेका ज्यालादारीका एक सय ५१ कर्मचारीलाई हटाइएको छ । रेल सञ्चालनका लागि ज्यालादारीमा नियुक्त गरी कानूनविपरीत सुविधा पाउँदै आएका एक सय ५१ कर्मचारीलाई नयाँ प्रबन्धक निरञ्जनकुमार झाले हटाएका हुन् ।

रेल सञ्चालनको टुङ्गो नै नलागेको अवस्थामा विभिन्न मितिमा नियुक्त गरिएका विभिन्न पदका एक सय ५१ ज्यालादारीका कर्मचारीलाई हटाइएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक झा नियुक्त भएपछि ज्यालादारीका कर्मचारीलाई आफूखुसी हाजिर नगर्न सूचनासमेत जारी गरेका हुन् ।

सूचनामा भनिएको छ, ‘कार्यालयले काममा नखटाई आफूखुसी हाजिर गरेको आधारमा ज्याला रकम भुक्तानी गर्न कानूनले नमिल्ने भएकाले हाजिर नगर्न यो सूचना प्रकाशित गरिएको छ ।’ कसैले आफूखुसी हाजिर गरेको पाइएमा सोको जिम्मेवार नेपाल रेल्वे कम्पनी लिमिटेड नहुने समेत सूचनामा उल्लेख छ ।

रेल्वेका तत्कालीन प्रबन्ध सञ्चालक गुरु भट्टराईले आफूखुसी ज्यालादारीमा कर्मचारी नियुक्त गरेका थिए । काम नगरेपनि उनको ठाडो आदेशमा कति कर्मचारीले ज्याला भुक्तानी पाउँदै आएका थिए । तर‚ उनलाई हटाएर वर्तमान सरकारले नियुक्त गरेका नयाँ प्रबन्धक झाले कानूनविपरीत बसेरै तलब खाइरहेका सबै कर्मचारीलाई हटाइदिएका हुन् ।

‘कामै नगरी ज्यालादारी कर्मचारीले ज्याला पाउने कानूनी प्रावधान कहिँ कतै छैन’, प्रबन्ध सञ्चालक झाले भने, ‘नियुक्त कर्मचारीले काम नगरेपनि आफूखुसी हाजिर गर्दै आएका थिए, त्यसैले उनीहरूलाई हटाएको छु ।’ अब रेल चल्ने निश्चित भएपछि लोक सेवा आयोगको अनुमति लिएर मात्र कर्मचारी भर्ना गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *