तनहुँका स्कुलः कतै धमाधम पढाई, कतै ठप्पै

पोखरा । तनहुँको व्यास नगरपालिकाले गत सातादेखि नै विद्यार्थीहरुलाई भौतिक उपस्थितिमा पढाउन थालेको छ । भानु नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाले पनि स्कुलमै बोलाएर पढाई थालेका हुन् ।

 ‘धेरै विद्यार्थी भएका स्कुलमा अनलाइन, टोल शिक्षादेखि स्कुलमै पनि पढाई हुन्छ । सय भन्दा थोरै विद्यार्थी भएका ठाउँमा भौतिक उपस्थितिमै मापदण्ड पुर्‍याएर पढाउन भनेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले भने, ‘स्वास्थ्य सामग्री पालिकाले उपलब्ध गराएको छ । विद्यार्थीको सुरक्षामा कुनै अभाव हुन दिँदैनौं ।’ उनका अनुसार पालिकामा  अहिले कोरोना संक्रमण शून्य छ । भौतिक उपस्थिति हुने स्कुलमा अहिले धमाधम कोर्षको पढाई भइरहेको छ ।

गत आइतबारदेखि जिल्लाका कतिपय स्थानीय तहले भौतिक रुपमै पठनपाठन हुने गरी विद्यालय सञ्चालनमा ल्याउँदा कतै भने अझै अन्याेल छ । वैशाख दोस्रो सातादेखि बन्द भएका विद्यालयले सम्भव भएसम्म भर्चुअल माध्यमबाट पढाउँदै आएका थिए । कुनै स्कुलमा सिफ्ट छुट्याइएको छ भने कतै जोर बिजोर प्रणाली लागू गरिएको छ । जोर कक्षाको जोर गते पढाउने र बिजोर कक्षाको बिजोर गते पढाउने प्रणाली पनि छ ।

बन्दीपुर गाउँपालिका भौतिकरुपमै कक्षा सञ्चालनको तयारी गरे पनि कहिलेबाट सञ्चालनमा ल्याउने भन्नेबारेमा अझै निर्णय गरेका छैनन् । सरकारले पनि विद्यालय सञ्चालनको पूरा अधिकार पालिकालाई दिएको छ । शुक्लागण्डकी नगरपालिकाले भने राजमार्ग आसपासका ५ विद्यालय बाहेक अरु विद्यालय खोल्न अनुमति दिएको छ । ग्रामीण भेगका विद्यालयमा एउटा बेञ्चमा २ विद्यार्थी राखेर सिफ्ट आधारमा कक्षा सञ्चालन अनुमति दिएको नगरपालिकाले जनाएको छ । तनहुँ जस्तै गोरखाका विद्यालय पनि विस्तारै खुल्ने तर्खरमा छन् । गोरखामा अहिले लकडाउन पूर्ण खुकुलो भएको छ । तर एउटै पालिकामा पनि कुनैले पढाउने र कसैले नपढाउँदा विद्यार्थीहरुमा अन्यौलता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *