विद्यालय खोल्न हतार नगरौं

डा. बासुदेव पाण्डे भन्छन्- ‘१८ वर्षमुनिकाले खोप नपाएकाले विद्यालय खोल्नु जोखिमपूर्ण हुन्छ’

काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेका विद्यालय खुल्न थालेका छन् । कोरोनाको जोखिम विश्लेषण गरी कम जोखिम भएका क्षेत्रमा पालिकाहरुले विद्यालय सञ्चालन गर्न थालेका हुन् । तर अझै भाइरसको नयाँ भेरिएन्टहरु भेटिइरहेका हुँदा विद्यालय खोल्न हतार गरिहाल्न नहुने जनस्वास्थ्य र भाइरस विज्ञकरुले बताउँदै आएका छन् । यसै सन्दर्भमा मकालुखबरकर्मी समीक्षा गाहाले भाइरोलजिष्ट डा.बासुदेव पाण्डेसँग गरेको कुराकानी :-

अहिलेको अवस्थामा विद्यालय खोल्नु कत्तिको उपयुक्त हो ?
पहिलो कुरा हामीले नै अहिलेको यो स्थितिलाई राम्रोसँग आङ्कलन गर्न सकिएको छैन । संक्रमण २०/२५ प्रतिशतको हाराहारीमा छ । कहिले अलिकति बढ्ने, फेरि घट्ने गरिरहेको छ । १८ वर्षमुनिका कसैले पनि खोप लगाएका छैनन् । बालबालिकाका लागि भ्याक्सिन नै बनेको छैन । विद्यालय जाने विद्यार्थीको उमेर भनेको सामान्यतया १८ भन्दा कम नै हो । अर्कातिर अहिले आएको कोरोनाको नयाँ भेरिएन्ट डेल्टा र डेल्टा प्लसको संक्रमण बालबालिकामा पहिलेभन्दा बढी देखिएको छ । हामीले स्वास्थ्य मापदण्डका कुराहरु राम्रोसँग पालना गर्न पनि कन्जुस्याइँ गर्ने गरेका छौं । त्यसैले, यस्तो अवस्थामा हतार गरेर विद्यालय खोलिहाल्नु चाहीँ उपयुक्त होइन ।

यति हुँदाहुँदै पनि केही ठाउँमा विद्यालय खुलिसका छन् । विद्यालयमा शिक्षक र विद्यार्थी स्वयमले अनि घरमा अभिभावकले के कस्ता कुरामा ध्यान दिन र बालबालिकालाई सतर्क गराउन सक्छन् ?
१८ वर्ष भन्दा माथिकाले सम्भव भएसम्म सबैले भ्याक्सिन लगाउने । शिक्षक, अभिभावकबाट बच्चामा र बच्चालाई संक्रमण भयो भने फेरि शिक्षक तथा घरमा अभिभावकमा सर्ने भएकाले सम्भव भएसम्म शिक्षक तथा अभिभावक दुवैले भ्याक्सिन लगाउनु राम्रो हुन्छ । साथै बालबालिकालाई धेरै कुरामा ध्यान दिनु पर्दछ । बालबालिकालाई विद्यालय पठाउँदा अभिभावकले मास्कको अनिवार्य रुपमा लगाइदिने, लगाउन पठाउने गर्नुपर्दछ । विद्यालय जाँदा सार्वजनिक बसमा जाने होकि, विद्यालयको बसमा जाने हो, त्यसमा विशेष ध्यान दिने, सार्वजनिक बस सकेसम्म यात्रा नगर्ने, गर्नै परेमा विशेष ध्यान पुर्याउने । अनि विद्यालय पुगिसकेपछि हात धुने व्यवस्था मिलाउने, बालबालिकालाई हात धुन लगाउने, विद्यालयमा सिट प्लानिङ पनि त्यहीअनुसार गर्ने । साथै सकेसम्म भिडभाड नगरी, नजोडिएर बस्ने व्यवस्था मिलाउने । खाजा खाने बेलामा मास्क खोल्नुपर्ने भएकाले त्यस बेलामा विशेष ध्यान दिएर सानो समूह बनाएर, छुट्टिएर बसेर खाने व्यवस्था मिलाउने । विद्यालयमा प्रवेश गर्दा तापक्रम अनिवार्य जाँच गर्नु पर्दछ । लक्षणहरु छन्, छैनन् भन्ने कुरा जानकारी लिएर लक्षण नभएमात्र विद्यालयमा प्रवेश गराउन पर्दछ । बालबालिकामा त्यस्ता केही समस्या देखिए विद्यालय नआउन घरमै बस्न आराम गर्न लगाउने । साथै सरसफाइमा पनि ध्यान दिनु पर्दछ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डबारे जानकारी दिने र पालना गर्न लगाउने गर्नुपर्छ । सौचालय जाँदा पनि विशेष सावधानी अपनाउन, धेरै बच्चाहरु एउटै सौचालय जाने भएकाले यस्ता कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ । विद्यालय खोल्नैपर्ने अवस्थामा यी कुरामा ध्यान दिनु पर्दछ । साथै सिफ्ट अनुसार चलाउन सके अझ राम्रो हुन्छ । १० कक्षासम्म बिद्यालय छ भने ५ सम्म एक दिन अनि ५ देखि १० सम्म एक दिन यसरी पनि पढाउन सकिने भो । अनि बिस्तारै अवस्था राम्रो हुँदै गयो भने पूर्ण रुपमा विद्यालय सञ्चालन गर्नु उपयुक्त हुन्छ कि भन्ने कुरा ख्याल गर्न सके अझ राम्रो ।

नयाँ भेरिएन्टहरु नि आइरहेका छन्, तेस्रो लहरमा बालबालिकाका लागि बढी जोखिमपूर्ण छ भनेर पनि समाचारहरु आउने गरेका छन् विद्यालय खोल्ने निर्णयले अझ समस्या पो निम्त्याउने हो कि ?
हरेक महिनाजस्तो भाइरसको म्युटेसन परिवर्तन भइराख्छ । परिवर्तन हुँदा कति भाइरसहरु अलि कमजोर भएर जान्छन् भने कोही अलि कडा भएर आउँछन् । तर यो भाइरस परिवर्तन हुँदै जाँदा बढी कडा भएर पहिलो लहरकोभन्दा दोस्रो लहरको भाइरस कडा भएर आउँदा धेरै संक्रमण अनि मृत्युदर पनि धेरै पाइयो भनेर बालबालिकामा अलि धेरै संक्रमण भएको देखियो । अब आउने भाइरस अझै बालबालिकालाई जुन तरिकाबाट भित्र छिर्छ, छिर्न एउटा पाथ वे  हुन्छ, त्यहाँबाट अन्य नयाँ पाथ वे पत्ता लगाएर बच्चामा पनि जान सक्ने, अनि सिधै फोक्सोको सेलमा गएर संक्रमण गराउने खालको पनि हुन सक्ने देखिएकाले अर्को लहरमा बालबालिका टार्गेटमा पर्न सक्ने सम्भावना धेरै हुनसक्ने देखिएको हो । अहिलेसम्मको साइन्टिफिक क्याल्कुलेसनले यही भन्छ ।

यसको मतलब विद्यालय खोल्ने निर्णय हतारो जस्तो भयो कि ?
अहिले विद्यालय खोल्ने निर्णय एकदमै हतारको निर्णय भयो । बालबालिका धेरै लामो समय घर बसे मानसिक रुपमा तथा अन्य कुराले कमजोर भए भन्ने कुरा अभिभावको सही हो, विद्यालय पठाउनुपर्छ भन्नु ठिक होला तर पनि अलि कति हतार पो भयो कि ? एउटा तयारी नै नभईकन यो अवस्थामा विद्यालय खोल्नु पक्कै पनि जोखिमको कुरा पनि हो । फाइजर तथा मोर्डनाको भ्याक्सिन आयो भने १२ देखि १८ वर्षको बच्चालाई लगाउने योजना छ । त्यो भ्याक्सिन आएर लगाएपछि विद्यालय सञ्चालन गरेको भए वेस्ट हुने थियो । अहिलेसम्म त बन्द नै थियो अब केही समय पर्खिएर विद्यालय यो दसैँपछि लगाएको भए राम्रो हुने थियो । बालबालिकाहरुका लागि संक्रमण भयो भने भेन्टिलेटर, आइसियुहरु  धेरै कम छन् ठूलो मानिसको तुलनामा यो सबैको स्थिति हेर्दा हाल चाहीँ उपयुक्त समय होइन नै । विद्यालय खोल्न तर, पनि किन हतार भयो भन्ने अलि चिन्ताकै विषय हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *