प्रतिपक्षी खुसी पारेर बोलाइयो संसद् बैठक

पोखरा । मार्शल लगाएर बजेट पारित भएपछि गण्डकी प्रदेश सभा बैठक ठप्प छ । २ महिनादेखि बन्द संसद् भदौ मसान्तमा डाकिएको छ । खासगरी प्रमुख प्रतिपक्षी एमालेले अबरुद्ध गर्ने डरले सरकारले बैठक बोलाउन आनाकानी गरिएको हो । एमालेले आफ्नो सरकारले सुरु गरेका अधिकांश राम्रा योजना कटौती गरेको भन्दै संसद् अघि बढ्न नदिने चेतावनी दिएको थियो ।

पटक–पटक एमालेले सरकारको ध्यानाकर्षण गराउँदै पुराना योजनालाई बजेट छुट्याउन बाध्य पार्यो । सरकारले पनि बजेट सुनिश्चित नभएका केही महँगा योजनालाई कटौती गरेको थियो । त्यसको रिसमा एमालेले सदन अबरुद्ध गर्ने चेतावनी दिएको हो । असार ३० गते बजेट पारित भएपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि सदन स्थगित भएको थियो ।

दुई महिनापछि भदौ २९ गतेका लागि बैठक डाकिएको हो । बैठकको कार्यसूची बनाउन २८ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । एमाले सरकारले १४ वटा आयोजनाबाट सवा ५ अर्बभन्दा बढी दायित्व बढ्नेगरी नयाँ टेण्डर निकालेको थियो । तिमध्ये ९ वटा आयोजनालाई यो सरकारले पनि निरन्तरता दियो । ५ वटा आयोजना भने तत्काल सम्भव नभएको भन्दै थाँती राखिएको थियो । ती आयोजनासमेत एमालेको दबाबमा कार्यान्वयनमा लैजाने तयारी छ ।

चालू वर्षमा मोबिलाईजेसन रकम दिएर योजनाको काम अघि बढाउने निर्णय भएको अर्थमन्त्री रामजी बरालले बताए । लमजुङको खत्रीठाँटी सोतीपसल सडक, पर्वतको सालिग्राम कोरिडोर, म्याग्दीको बेनी–दरबाङ र स्याङजाको नौडाँडा–कार्कीनेटा सडक तथा गोरखाको धार्चेस्थित नौलीखोला पुल निर्माण अघि बढाउने निर्णय गरेको हो । चालू वर्षका लागि २३ करोड ७५ लाख विनियोजन गरिएको उनले सुनाए ।

संसद् सचिवालयमा ५ वटा विधेयकहरु दर्ता भएका छन् । एउटा विधेयक सामान्य छलफलपछि दफाबार छलफलका लागि विधायन समितिमा पठाइएको छ भने प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक संशोधनको कार्यसूची छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *