मनाङबाट सडकले तिब्बत जोडिने

पोखरा । भौगोलिक दृिष्टकोणले मनाङ गण्डकीकै सबैभन्दा विकटमध्येको जिल्ला हो । नार्पाभूमि गाउँपालिका अहिलेसम्म सडक सञ्जालले छोएको छैन । अरु पालिकाका पनि बेसीसहर चामे सडकखण्डले छोइएको छ । बनेका सडक पनि असार १ गते मर्स्याङदीमा आएको बाढीले क्षतविक्षत बनाएको छ । चामेसम्मको सडक पुरानै हालतमा लैजान करोडौं खर्च गर्नुपर्ने अवस्था छ । कतै सडक नै रि–रुट गर्नुपर्ने अवस्था छ भने कतै ब्लास्ट् गरेर भिर फोड्नुपर्ने छ ।

यहि अन्यौलका बीच प्रदेश सरकारले मनाङबाट तिब्बत जोड्ने अर्को बाटो बनाउने भएको छ । मन्त्रिपरिषद् बैठकले धारापानीदेखि थोंचे, तिल्चे, भीमथाङ हुँदै लार्केपास जोड्ने सडकको ट्र्याक खोल्ने निर्णय गरेको हो । यो सडक पहिले नै बनाउने भनिएपनि ईआईए तयार नभएका कारण रोकिएको थियो । सरकारका प्रवक्ता कुमार खड्काकाअनुसार यो वर्ष ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसलाई बहुवर्षीय सडक आयोजनाका रुपमा सूचीकृत गरेर सम्पन्न गर्ने योजना छ । यो सडकलाई तिब्बतदेखि काठमाडौं जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा लिइएको छ ।

|तस्बिरः प्रकाश ढकाल/मकालुखबर|

थोंचेदेखि १० किलोमिटरसम्मको सडकको डीपीआर बनिसकेको छ । पूर्वाधार कार्यालय मनाङका प्रमुख प्रल्हाद दाहालले डीपीआर गरिएको १० किलोमिटर सडक बनाउन मात्रै ६० करोड लाग्ने बताए । ‘तल्लो क्षेत्र जस्तो होइन । यहाँको जमिन संवेदनशील छ,’ उनले भने, ‘भौगोलिक रुपमा पनि कठिन र विकट भएकोले धेरै पैसाले थोरै मात्रै काम हुन्छ ।’

त्यसपछिको सडकको भने डीपीआर बनेको छैन । थोंचेबाट ३ दिनको हिँडाइपछि लार्के पुग्न सकिन्छ । योसँगै नार्पाभूमि गाउँपालिका जोड्ने सडकमा पनि सरकारको चासो छ ।

यद्यपी यसलाई संघ सरकारले पनि आफ्नो मातहतमा राखेकोले प्रदेशबाट यो वर्ष बजेट विनियोजन भएन । कोतोदेखि नार्पाभूमिको सदरमुकाम च्याखुसम्म सडक पुर्याउन १ अर्ब लाग्ने अनुमान छ । यसअघि वर्षेनी ८–१० करोड विनियोजन भएपनि डीपीआर र ईआईए नभएका कारण कार्यान्वयनमा गएको थिएन । भीमकाय भिर र कडा चट्टानले गर्दा यहाँको लागत महँगो पर्ने दाहालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *