हल खुले, चलचित्र कहिले ?

काठमाडौँ । काठमाडौँ उपत्यकामा स्वास्थ्य मापदण्ड अपनाउँदै हल सञ्चालन गर्न सकिने निर्णय भएको छ । बुधबारको यो निर्णयपछि बिहीबारबाट हलमा पुराना चलचित्र लगाएरै भए पनि हल खोल्ने चर्चा चलेको थियो । तर‚ सरकारले अचानक गरेको निर्णयका कारण हल सञ्चालकले तत्कालै चलचित्र लगाउने स्थिति नरहेको देखिएको छ । शुक्रबार राजधानीका कुनै पनि हलमा चलचित्र लागेनन् । हल सञ्चालनका लागि नयाँ चलचित्र कसले दिने भन्ने प्रश्न पनि सिर्जना भएको छ ।

वैशाख पहिलो साताबाट बन्द भएका हलहरू छिट्टै सञ्चालन गरिने सञ्चालकहरू बताउँछन् । चलचित्रकर्मी अशोक शर्माले हल सञ्चालन गर्नुपर्ने बताएका छन् । अझै पनि हल सञ्चालनको पहल नगर्ने हो भने दसैँमा पनि हल सञ्चालन गर्न समस्या हुने उनीहरू बताउँछन् । काठमाडौँ उपत्यकामा मात्रै नभएर देशभर हल खोल्न पहल गर्नुपर्ने निर्माता अशोक शर्माको तर्क छ । हल सञ्चालन गर्दै गएर निर्माता, वितरकसँग छलफल गरी दसैँमा चलचित्र प्रदर्शन गर्ने सहज माहोल बनाउनुपर्ने उनी बताउँछन् ।

हल सञ्चालन गर्न सञ्चालकहरू सरसफाइ र आन्तरिक सजावटमा व्यस्त छन् । चाबहिलस्थित ‘एफ क्यूब सिनेमाज्’का वित्तीय निर्देशक दिनेश श्रेष्ठले हल अर्को साताबाट सञ्चालनमा आउने बताए । सुरुमै नयाँ नभए पनि विदेशमा चलेका तर नेपालमा रिलिज नभएका हिन्दी तथा अङ्ग्रेजी चलचित्र चलाउने उनको योजना रहेको छ । सुरुमा कुल क्षमताको ५० प्रतिशत मात्र दर्शक राखेर हल सञ्चालन गर्ने पनि उनले बताए ।

चलचित्रकर्मी दीपेन्द्र के खनालको भनाइ भने केही फरक छ । सरकारले काठमाडौँ उपत्यकामा हल सञ्चालनको अनुमति दिएपनि हलमा लगाउने के ? भन्ने प्रश्न सिर्जना भएको उनी बताउँछन् । सरोकारवाला एकजुट भएर चलचित्र क्षेत्र चलायमान बनाउनुपर्ने उनको मत छ । फिल्म हल सञ्चालनमा आए पनि निर्माताले चलचित्र वितरकलाई दिनुपर्‍यो । वितरक र हलवालाको कुरा मिलेपछि बल्ल चलचित्र हलसम्म आउँछ । यसका लागि छलफल र एक अर्काका लागि सहायता र सरसहयोग जरुरी रहेको खनालको भनाइ छ ।

नेपाल चलचित्र सङ्घका अध्यक्ष मधुसूदन प्रधानले हलमा चलचित्र लगाउन चिन्ता नरहेको बताए । उनले निर्माता र वितरकसँग कुराकानी भइरहेको र नयाँ चलचित्र लगाउन प्रयास गरिरहेको बताएका छन् । एक हप्ताको समय सरसफाइमा लाग्ने भए पनि त्यसपछि नयाँ चलचित्रमा नै जोड दिन पहल शुरु गरिएको उनले बताए । पालो कुरेर बसिरहेका चलचित्र धेरै रहेकाले हलमा लगाउन समस्या नहुने उनी बताउँछन् ।

हल सञ्चालक तथा निर्माता प्रदीप उदय सरकारको निर्णय स्वागतयोग्य भएको बताए । उनले लकडाउन अवधिभरको ट्याक्स फ्री र बिजुली महसुलमा छुट गराउन सरकारसँग अनुरोध पनि गरेका छन् । कोरोनापछि सबैभन्दा बढी मारमा परेको क्षेत्र चलचित्र क्षेत्र भएको बताउँदै सरकारले राहतका केही राम्रा प्याकेज ल्याइदियोस् भने चाहना रहेको उनले बताए ।

पछिल्लो समय म्युजिक भिडिओमा व्यस्त निर्देशक सुब्रत आचार्यले भने व्यङ्ग्यात्मक पारामा सञ्जालमा हल सञ्चालनको विषयमा विचार व्यक्त गरेका छन् । उनी लेख्छन्, ‘हल त खुले रे ! कुन कुन हल खुले ? कहाँ कहाँ‚ कुन कुन फिल्म चलाइएको छ ? शो टाइम थाहा भए हेर्न जान हुन्थ्यो नि, कफी पिउँदै ! कि कसो ?’ उनको कटाक्ष चलचित्र बनाएर प्रदर्शनका लागि तयारीमा राखेका र यसअघि समेत हल खुल्दा आफ्नो चलचित्र नचल्ने डरले घरमै थन्क्याएर राखेका निर्माताप्रति देखिन्छ ।

सरकारको निर्णय स्वागतयोग्य भएको चलचित्र वितरक करण श्रेष्ठ बताउँछन्  । ३ जिल्लामा खुलेका हल देशैभर खुल्नुपर्ने बताउने उनी हलवाला, वितरक र निर्माताबीच सहकार्य हुन जरुरी रहेको बताउँछन् ।  छलफलसमेत चलिरहेको बताउने श्रेष्ठले यसअघि पहिलो लकडाउन खुल्दा समेत जीजीए ग्रुपमार्फत चलचित्र गोर्खे र श्री प्रदर्शनमा ल्याएका थिए । श्री लगाएको केही समयमा नै दोस्रो लकडाउन सुरु भयो । त्यसैले पहिला श्री पुनःप्रदर्शन गर्ने योजना रहेको उनी बताउँछन् । सबै उद्योग चलायमान रहँदा चलचित्र उद्योग ठप्प रहेकाले यस विषयमा सरकारले सहुलियत दिनुपर्ने उनको तर्क छ ।

हालसालै मात्रै हल सञ्चालक बनेका दीपकराज गिरी र दीपाश्री निरौला सरकारको चलचित्र हल सञ्चालन गर्ने निर्णयले खुसी छन् । ‘सबै ठिक हुने अपेक्षासहित हल खोलेका छौँ । पक्कै राम्रो हुन्छ ।’ उनीहरू आशावादी देखिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *