खुल्दै उपत्यकाका विद्यालय

जोर-बिजोर प्रणालीमा कक्षा सञ्चालन गर्ने तयारी

काठमाडौँ । काठमाडौं उपत्यकामा विद्यालयहरु सञ्चालन गर्ने तयारी गरिएको छ । बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीचको बैठकले स्मार्ट लकडाउनको मापदण्डमा रहेर विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको थियो ।

सोहीअनुसार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)सँग समन्वय गरी विद्यालय सञ्चालन गर्ने तयारी गरिएको हो । काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले दुई दिनसम्म कोरोना संक्रमितको संख्या र अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने विषयमा प्याब्सन, एन प्याब्सन, अभिभावक महासंघ, शिक्षक संघ संगठनसँग छलफल गरेर नगर शिक्षा समितिको बैठकले निर्णय गर्ने जानकारी दिए ।

प्याब्सन काठमाडौंले भने आइतबारबाटै विद्यालय खोल्न आन्तरिक सर्कुलर जारी गरेको छ । प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले गोकर्णेश्वर नगरपालिकाले विद्यालय खुला गरेपछि काठमाडौंका १० वटा नगरपालिकालाई दबाब परेको बताए । उनका अनुसार आइतबारबाट उपत्यकाका विद्यालय सञ्चालन गर्नेगरी तयारी भइरहेको छ ।

बढी विद्यार्थी भएका विद्यालयमा दुई सिफ्ट वा बारअनुसार कक्षा सञ्चालन गर्नेगरी विद्यालय खुला गर्ने तयारी भइरहेको उनले सुनाए । ‘जोरबार जोर कक्षा र बिजोर बार बिजोर कक्षा सञ्चालन गर्नेछौं,’ उनले भने, ‘साना कक्षालाई दिउँसो र ठूला कक्षालाई बिहान कक्षा सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।’

कक्षा सञ्चालन गर्दा एकैपटक नबोलाई रोल नं.अनुसार जोर–बिजोर प्रणाली लागू गर्ने अर्थात् जोर बार जोर रोल नं. र बिजोर बार बिजोर रोल नं.का विद्यार्थीलाई बोलाउने । यस्तो प्रणाली सबै विद्यालयमा एकैपटक लागू नगरी निजी र सार्वजनिक विद्यालयलाई छुट्टा–छुट्टै बार लागू गर्ने ।

 

लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा समस्या परेको जनाउँदै उपत्यकाका नगरपालिकाले विद्यालय खोल्ने तयारी गरेको हो । प्याब्सन ललितपुरका अध्यक्ष साधेकृष्ण महर्जनले जिल्लाका पालिकाले बैठक बसेर निर्णय गर्ने बताए । ‘सकेसम्म पर्सि आइतबारबाट विद्यालय खुला गर्नेछौं, नभए अर्को साताबाट खुला गर्नेछौँ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *