एमालेको प्रवक्ता को ?

काठमाडौं । नेकपा (एमाले) लाई फुटबाट जोगाउनका लागि असार २७ गते १० सदस्यीय एमाले कार्यदलले १० बुँदे सहमतिको प्रस्तावना तयार पारेको थियो । त्यो ‘रसायन’ ले एमाले सग्लै राखिरहन नसके पनि दोश्रो पुस्ताका धेरै नेताहरुलाई भने एमालेमै राख्न सफल भयो ।

सहमतिको प्रस्तावनाको बुँदा नं. २ मा भनिएको छ— ‘पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरु नवौ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुनुपूर्व ०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरु मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुनेछन् ।’

१० बुँदाको कार्यान्वयन हुने क्रम जारी छ । अब लिनुहुन्छ उहाँ (योगेश) ले जिम्मेवारी ।

उक्त १० बुँदालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकले अनुमोदनसमेत गरिसकेको छ । त्यसपछि कार्यान्वयनको प्रयास गरेपनि संस्थापनइतर पक्षको नेतृत्व गर्दै आएका वरिष्ठ नेता माधवकुमार नेपालको चित्त बुझाएनन् ।

उनको तर्क थियो—‘प्रस्तावनाले जेठ २ बारे बोलेपनि फागुन २८ बारे बोलेन, यो केबल भ्रम मात्रै हो ।’

अन्ततः असन्तुष्ट नेपालले नयाँ दल (एकीकृत समाजवादी) दर्ता गरेरै छाडे । एकीकृत समाजवादी बन्नुपूर्व नेपालकै साथमा रहेका एमालेका तीन उपाध्यक्षसहितका एउटा धार ‘एमाले एकताको विकल्प नभएको’ भन्दै एमालेमै फर्कियो । जहाँ एमाले सचिवसमेत रहेका साबिक एमाले प्रवक्ता योगेशकुमार भट्टराई पनि थिए ।

खासगरी ओलीपक्षीय नेताहरुले पार्टी जेठ २ मा फर्किसकेको दाबी गरिरहँदा एमाले प्रवक्ताको जिम्मेवारी भने प्रदीप ज्ञवालीले नै सम्हालिरहेका छन् । भट्टराईलगायतका नेताहरुले नयाँ दललाई साथ नदिने भएपछि बसेको एमालेको बैठकमा एमालेको प्रवक्तामा भट्टराई नै फर्किएको भन्ने खालका समाचारहरु सार्वजनिक पनि भएका थिए ।

तर, भदौ ९ यता पनि ज्ञवालीले नै प्रवक्ताको हैसियतमा पार्टीका तर्फबाट विभिन्न विज्ञप्तिहरु प्रकाशित गर्दै आएका छन् । आजै मात्रै पनि ज्ञवालीले प्रवक्ताकै हैसियतमा एक विज्ञप्ति जारी गरेका छन् । दार्चुला घटनाबारे एमालेले बिहीबार निकालेको विज्ञप्तिमा प्रवक्ताका रुपमा ज्ञवालीले नै हस्ताक्षर गरेका छन् ।

के भन्छन् ज्ञवाली र भट्टराई ?

एमाले सचिवसमेत रहेका ज्ञवाली जेठ २ भन्दा अगाडि भट्टराई प्रवक्ताभन्दा पनि प्रचार विभाग प्रमुखको जिम्मेवारीमा रहेको बताउँछन् ।  एमालेमा प्रवक्ता व्यवस्था भर्खरै मात्रै गरिएको उल्लेख गर्दै ज्ञवालीले मकालुखबरसँग भने, ‘१० बुँदाको कार्यान्वयन हुने क्रम जारी छ । अब लिनुहुन्छ उहाँ (योगेश) ले जिम्मेवारी ।’

१० बुँदाको कार्यान्वयन भएको भन्नुभएको होइन ? भन्ने मकालुखबरको जिज्ञासामा ज्ञवालीले भने, ‘हामीले दाबी नै त गरेका छैनौँ । हुने क्रम जारी नै छ । अब बैठकहरुमा योगेश कमरेड आउनुहुन्छ अनि प्रवक्ताको जिम्मेवारी लिनुहुन्छ ।’

भट्टराईले पनि उस्तै आशयको कुरा बताए । जेठ २ मा फर्किएको भनिएको एमालेको प्रवक्तामा तपाईं हुनुपर्ने होइन र ? भन्ने प्रश्नमा भट्टराई भन्छन्, ‘सहमतिको कार्यान्वयनकै लागि हामी जुटिरहेका छौँ । अब कार्यान्वयन हुन्छ अनि सबै पार्टी कमिटीहरु जेठ २ तिर परिचालित हुन्छन् अनि म पनि प्रवक्ताको जिम्मेवारी लिन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *