न्यादी हाइड्रोपावरको आईपीओमा कति हजारले दिए आवेदन ?

पोखरा। लमजुङ मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन ३० मेगावाट क्षमतको न्यादी हाइड्रोपावरको आइपिओमा २५ हजार बढीको आवेदन परेको छ ।

आयोजनाले खुल्ला गरेको यही भदौ १ देखि १५ गते सम्ममा २५ हजार १९१ ले आवेदन दिएको आयोजना प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए ।

उनका अनुसार यतिका सङ्ख्यामा परेको आवदेनबाट ६१ करोड १३ लाख ३ हजार ८०० रुपैयाँ बराबरको निवेदन रहेको छ ।

यीमध्ये आयोजना प्रभावित मस्र्याङ्दी गाउँपालिकाका स्थानीयवासीका लागि छुट्याइएको पाँच लाख कित्ता शेयरको लागि दुई हजार ९५३ आवेदकबाट १६ करोड ३७ लाख १८ हजार १०० र जिल्लावासीको लागि तोकिएको १० लाख कित्ता शेयरको लागि २२ हजार २३८ जना आवेदकबाट ४४ करोड ७५ लाख ८५ हजार ७०० रुपैयाँ बराबरको आवेदक माग रहेको आयोजनाले जनाएको छ ।

आयोजना अनुसार यी आवदेकको आधारमा ६१ लाख ६३० कित्ता माग भएको छ । यीमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको १६ लाख ३७ हजार १८१ कित्ता र जिल्लावासीको ४४ लाख ७५ हजार ८५७ कित्ता रहेको छ ।

जिल्लाबासीको लागि कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यका १० लाख कित्ता शेयर निष्काशन गरेको हो भने अति प्रभावित क्षेत्रका लागि पाँच लाख र संस्थापक शेयरधनीका लागि तीन लाख कित्ता शेयर प्रारम्भिक चरणमा निष्कासन गरेको हो ।

आयोजना प्रमुख अमात्यका अनुसार अब अन्य सर्वसाधरणका लागि ७ देखि १० दिनभित्रमा शेयर खुल्ला गर्ने भएको छ । विसं २०७३ चैत महिनादेखि निर्माण थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो ।

विविध कारणले निर्माणमा ढिलाइ हुँदा समयमा काम सम्पन्न नभए पनि हाल आयोजनाको काम अन्तिम चरणमा पुगेको आयोजना जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । सो आयोजना ६ अर्बको लागतमा निर्माण सम्पन्न हुने जनाइएको छ ।

आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् साँढे चार अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ ।

आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४.८० र सुक्खायामका लागि ८.४० मा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ । मर्स्याङ्दी गाउँपालिका-६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *