वैदेशिक व्यापारको एक तिहाई आयात–निर्यात वीरगन्ज नाकाबाट

काठमाडौँ । वीरगन्ज भन्सार नाकाबाट मात्रै गत आर्थिक वर्ष २०७७/७८ मा ५ खर्ब ११ अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको छ । गत आर्थिक वर्षमा नेपालको कुल आयात १५ खर्ब ३९ अर्ब ८३ करोडको रुपैयाँ बराबर रहेकोमा झण्डै एक तिहाई (३३ प्रतिशत) आयात यही नाकाबाट भएको हो ।

देशको मध्य भागमा रहेको र काठमाडौं, हेटौंडा, चितवनलगायत ठूला सहरको नजिकमा रहेको र यी सहरमामा खपत हुने सामग्री यही नाकाबाट आयात हुने भएकोले नै यो नाकाको आयात बढी देखिएको हो ।

यो नाका भएर हुने आयात समेत गत वर्ष २४.४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा यो नाकाबाट ४ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

त्यस्तै, नेपालबाट हुने कुल वस्तु निर्यातको एक तिहाई हिस्सा वीरगन्ज नाकाबाटै भएको देखिएको छ । गत आर्थिक वर्ष कुल १ खर्ब ४१ अर्ब रुपैयाँको वस्तु निर्यात भएकोमा ५३ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात वीरगन्ज नाकाबाट भएको छ । अघिल्लो आर्थिक वर्ष यो नाकाबाट ३२ अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात यही नाकाबाट भएको थियो ।

देशमा खपत हुने पेट्रोलियम उत्पादनका वस्तुको धेरै जसो हिस्सा यही नाकाबाट आउने भएकोले पनि यो नाकाको आयात बढी देखिएको हो ।
वीरगन्जपछि भैरहवा भन्सार नाकाबाट सबै भन्दा बढी मूल्यको वस्तु आयात भएको छ । यो नाकाबाट गत आर्थिक वर्षमा कुल २ खर्ब ९३ अर्ब ४९ करोड रुपैयाँ बराबरको आयात भएको छ । भैरहवा भन्सारबाट भएको निर्यात ४४ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यो नाकाबाट गत वर्ष ६ अर्ब ७७ करोडको निर्यात भएको छ ।

त्यस्तै, वीरगन्ज सुखा बन्दरगाह भन्सार कार्यालय भएर नेपालमा गत आर्थिक वर्षमा १ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँ मूल्य बराबरका वस्तु भित्रिएका छन् ।

त्यस्तै, वीराटनगर भन्सार नाकाबाट १ खर्ब ८९ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु भित्रिएको छ ।

गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट १ खर्ब ४३ अर्ब रुपैयाँको आयात र २५ अर्ब ४१ करोड रुपैयाँको निर्यात भएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयबाट ६८ अर्ब ९४ करोडको आयात, २ अर्ब २४ करोडको निर्यात भएको छ । मेची भन्सार कार्यालयबाट ४५ अर्बको आयात र १२ अर्ब ६० करोड रुपैयाँको निर्यात भएको छ ।

कृष्णनगर भन्सार नाकाबाट २४ अर्ब ४८ करोडको आयात र ३३ करोडको निर्यात भएको छ । कैलाली भन्सार नाकाबाट २६ अर्ब ७९ करोडको आयात र ५९ करोडको निर्यात भएको छ ।

जलेश्वर भन्सार नाकाबाट ५ अर्ब ७१ करोडको आयात भएको छ । यो नाकाबामट गत वर्ष निर्यात भने शून्य रहेको छ ।

तातोपानी नाकाबाट ५ अर्ब ८४ करोडको आयात भएको छ भने निर्यात शून्य भएको छ । तर, अघिल्लो वर्ष यो नाकाबाट १३ करोड रुपैयाँको निर्यात भएको थियो ।

कञ्चनपुर नाकाबाट १ अर्ब ३३ करोड आयात भएको छ भने ३ करोडको निर्यात भएको छ । रसुवागढी भन्सार नाकाबाट १७ अर्ब १ करोडको आयात भएको छ भने ५८ करोडको निर्यात भएको छ ।

यीबाहेक अन्य सबै छोटी भन्सार नाकाहरुबाट १७ अर्ब २ करोड रुपैयाँको आयात भएको छ भने ३ करोडको निर्यात भएको छ ।

नेपालको वैदेशिक व्यापारका लागि मुख्य नाकाका रुपमा रहेका १३ ओटा नाका मध्ये सबैभन्दा बढी प्रयोग हुने नाका वीरगन्ज र सबैभन्दा कम प्रयोग हुने नाका रसुवागढी देखिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =