नेपालमै पहिलो पटक स्पोर्टस म्यानेजमेण्ट पढाउँदै गण्डकी 

पोखरा । प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले नेपालमै पहिलो पटक स्पोर्टस म्यानेजमेण्टमा पढाई थाल्ने भएको छ । भदौ पहिलो साता विद्यार्थीको प्रवेश परीक्षा सकेर भर्ना प्रक्रिया सुरु भएको हो ।

विश्वश्विद्यालयले स्नातक तहमा पढाउन लागेको जनाएको छ । आवेदन र प्रवेश परीक्षामा पास भएकाहरु भर्ना हुन पाउँछन् । विश्वविद्यालयका कुलपछि डा. गणेशमान गुरुङका अनुसार स्पोर्टसमा २५ र आइटीमा ३५ जनाले भर्ना हुन पाउने छन् । ‘बेमौसमी भर्ना भयो । सोचेजति विद्यार्थी आएनन्,’ उनले भने, ‘अब मंसिरमा पनि खुलाउछौं । त्यति बेला विद्यार्थी आउँछन् ।’

आइटीको कक्षा महेन्द्रपुलमा हुन्छ भने स्पोर्टसको लागि ठाउँ खोजिरहेको उनले सुनाए । ‘चलिरहेको कलेज हेरेका छौं । एकदुई दिनमा फाइनल हुन्छ,’ गुरुङ भन्छन्, ‘जता पनि स्पोर्टस पढाउन सकिँदैन । उपयुक्त ठाउँ चाहियो ।’ तत्कालै बी फार्मेसीको भर्ना खुलाउँदै छ । सरकारले ३० वटा कोटा गण्डकी विश्वविद्यालयलाई दिएको छ । प्रदेशले विश्वविद्यालय ऐन २०७६ असोज २७ मा पास गरेको थियो ।

समय सापेक्ष र नयाँ परिवेश अनुसारको पाठ्यक्रम पढाई हुने उनले बताए । ‘हामी टेक्निकल सिकाई दिन्छौं । हाम्रा विद्यार्थीहरु अन्तरराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्ने र विश्व बजारमा बिक्न सक्ने हुन्छन्,’ उनले भने, ‘पढेपछि रोजगारी पाउनुपर्छ । बेरोजगार उत्पादन गर्ने पढाई अव काम छैन । हामी काम गरेर बाँच्न सक्ने जनशक्ति उत्पादन गर्न जोड गरिरहेका छौं ।’

उनका अनुसार केही समयपछि कस्मेटोलोजी र हटिकल्चरको पढाई पनि थाल्ने योजना छ । तनहुँको बेलचौतारमा टिचिङ हस्पिटल सञ्चालनका लागि मास्टर प्लान बनाइरहेको छ । विश्वविद्यालयकै लागि ३ सय ६७ रोपनी जग्गा नेपाल सरकारले स्वामित्व हस्तान्तरण गरिसकेको छ । यसमा तारबार गरिएको कुलपति गुरुङको भनाई छ । विश्वविद्यालयको मुख्य भवन निर्माण पोखरा ३२ मा भइरहेको छ । ९ करोड लागतमा भवन निर्माण गर्न लागिएको हो । वैशाख १५ गते शैक्षिक भवन शिलान्यास गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *