प्रदेश २ समृद्ध बन्न सक्ने सम्भावना : राष्ट्र बैंक

काठमाडौं । प्रदेश नम्बर २ समृद्ध प्रदेश बन्न सक्ने राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । भौगोलिक हिसावले समतल भू–भागमा अवस्थित उक्त प्रदेश आर्थिक क्रियाकलापका दृष्टिले समृद्ध प्रदेशको रुपमा विकसित हुन सक्ने सम्भावित प्रदेश भएको प्रतिवेदनले देखाएको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

कृषियोग्य भूमिको उपलब्धता, यातायात लगायतका पूर्वाधार निर्माण गर्न तुलनात्मक सहजता तथा वैदेशिक व्यापारको लागि प्रस्थान विन्दुसमेत भएकोले को कारणले यस प्रदेशमा कृषिका अतिरिक्त औद्योगिक क्षेत्रको विकासको पनि उत्तिकै सम्भावना रहेको प्रतिवेदनले उल्लेख गरेको छ । त्यस्तै, भारतीय सीमा नजिक रहेकोले यो प्रदेशमा उत्पादनशील उद्योग तथा कलकारखानाहरु स्थापना गरी उत्पादित वस्तु तथा सेवा भारततर्फ निकासी गर्न समेत तुलनात्मक रुपले निकै सहज रहेको प्रतिवेदनले औंल्याएको छ ।

प्रादेशिक जीडीपीमा कृषिको योगदान ४० प्रतिशत

केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक बर्ष २०७६÷७७ मा यस प्रदेशको कुल प्रादेशिक गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको सबैभन्दा बढी ४०.५७ प्रतिशत योगदान रहेको छ । खानी तथा उत्खनन् क्षेत्रको सबैभन्दा कम योगदान ०.५७ प्रतिशत रहेको छ । यस प्रदेशको करिब ६१.० प्रतिशत भू–भागमा कृषिजन्य क्रियाकलाप हुने गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्ममा यस प्रदेशमा प्रमुख कृषि उपज (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्रफल ४.२८ प्रतिशतले वृद्धि भई ८ लाख ९४ हजार ९ सय ७५ हेक्टर पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त भू–क्षेत्रफलमा ८.७६ प्रतिशतले वृद्धि भई ८ लाख ७० हजार ३ सय ५२ हेक्टर पुगेको थियो ।

पर्यटनको सम्भावना, श्रम शक्ति उपलब्ध

प्रतिवेदन अनुसार प्रदेश २ मा विभिन्न धार्मिक मठ मन्दिर तथा ताल तलैयाहरु रहेका कारण धेरैे संख्यामा भारतीय पर्यटकहरुको आवागमन हुने गर्दछ । अन्य प्रदेशको तुलनामा पौराणिक महत्वका ताल तलैयाहरु प्रशस्त रहेकाले यस प्रदेशमा धार्मिक तथा सांस्कृतिक पर्यटनको पनि राम्रो सम्भावना रहेको छ । नेपालमा जल मनोरञ्जनका श्रोतहरु कम भएको सन्दर्भमा यस प्रदेशका जनकपुरधाम क्षेत्रमा धेरै संख्यामा रहेका पोखरीहरुको सरसफाई तथा सडक पूर्वाधार सुधार गरी गुणस्तरीय होटल तथा रेष्टुरेन्टको स्थापना गरी मनोरञ्जनात्मक क्रियाकलापमा वृद्धि गर्न सके यो प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको प्रवद्र्धन गरी राजस्व संकलनमा समेत वृद्धि गर्न सकिने सम्भावना रहेको छ ।

यो प्रदेशमा कुल जनसंख्याको करीव २१.० प्रतिशत जनसङ्ख्या बसोबास गर्ने भएकोले ठूलो श्रमशक्ति तथा श्रमबजारको समेत लाभ रहेको छ ।

कृषियोग्य भूमिका आधारमा उत्पादन बढाउन परम्परागत रुपमा हुँदै आएको निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गरी व्यवसायीकरण गर्नु आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ ।

उत्पादनमूलक उद्योगधन्दा तथा कलकारखाना स्थापना गरी उत्पादन बढाउनुका साथै औद्योगिक विकास गर्नु, वैदेशिक रोजगारीको लागि विदेशमा रहेका युवाहरुले पठाएको विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्ने छ ।

त्यस्तै, अति सम्भावनायुक्त पर्यटन क्षेत्रको विकास गर्नु, वर्षेनी श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई उचित रोजगारीको अवसर उपलब्ध गराउनुका साथै उत्पादनमूलक काममा लगाउनुर श्रम बजारमा व्याप्त श्रमको अल्प उपयोगलाई सकेसम्म बढी उपयोग हुने वातावरण तयार गर्नु आवश्यक रहेको उल्लेख छ ।

पूर्वाधार विकास निर्माणका कार्यलाई तीव्रता दिनु पनि यस प्रदेशका प्रमुख चुनौती रहेको प्रतिवेदनले औंल्याएको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को प्रथम अर्धवार्षिक तथ्यांकलाई समेटेर प्रदेश २ को आर्थिक अवस्था सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको हो ।

यस्ताे छ प्रतिवेदन–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *