गोरखा र लोमान्थाङलाई विश्व सम्पदा सूचीमा राख्न पुनः प्रस्ताव

पोखरा । नेपालले सन् १९९६ मा गोरखा दरबारसहित मुक्तिनाथ उपत्यकाको गुफा र वास्तुकलालाई विश्व सम्पदा सूचीमा राख्न युनेस्कोसमक्ष प्रस्ताव गर्‍यो । १२ वर्षपछि सन् २००८ मा मुस्ताङकै लोमान्थाङ दरबार क्षेत्रलाई पनि सूचीमा सूचीकृत गर्न प्रस्ताव गरियो । यूनेस्कोले पटक-पटक तीनवटै क्षेत्रको अध्ययन पनि गर्‍यो ।

तर‚ अहिलेसम्म त्यो सूचीकृत भएको छैन । तिनै सम्पदाहरूलाई सूचीकृत गर्न गण्डकी सरकारले पुनः प्रस्ताव गरेको छ । यसबाहेक तनहुँसुर दरबार क्षेत्र र कालिगण्डकी प्रशवण क्षेत्रलाई समेत सूचीमा समावेश गराउन आवश्यक पूर्वतयारी गर्ने निर्णय गरेको छ ।

प्रदेश विकास समस्या समाधान समिति बैठकमा लोमान्थाङ र गोरखा दरबारबारे प्रस्ताव उठेको थियो । छलफलपछि समितिले राष्ट्रिय समस्या समाधान समितिको बैठकमा प्रस्ताव गर्नेगरी विश्व सम्पदा सूचीमा राख्न निर्णय गरेको हो ।

तर, प्रस्तावित क्षेत्रहरूले आफ्नो पहिचान भने बिस्तारै गुमाउँदै गएका छन् । लोमान्थाङ क्षेत्रमा आधुनिक घरहरू बनेका छन् । भूकम्पका कारण भत्किएको गोरखा दरबारको पुरानो पहिचान हराउने अवस्था छ । मुक्तिनाथमा पनि मोटरबाटोका कारण कोलाहल बढेको छ भने पुरानो संस्कृति लोप हुने अवस्था छ ।

विश्व सम्पदा सूचीमा सूचीकृतका लागि सिफारिस गरेपनि ती सम्पदाको संरक्षणमा भने सरकारले चासो दिएको छैन । जलवायु परिवर्तनका कारण कालिगण्डकी तटीय क्षेत्र बाढी र पहिरोले सखाप हुन लागेको छ । अब भने संरक्षणमा चासो दिइने प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *