एनआईसी एशिया क्यापिटलले ९ करोड ६० लाख लाभांश वितरण गर्ने

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडको चुक्ता पूँजीको ४८ प्रतिशतले हुन आउने ९ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । आइतबार भएको कम्पनीको पाँचौ वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो

क्यापिटलको थापाथलिस्थित कार्यालयमा भएको सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले स्थापनाको ५ बर्षको छोटो अवधि मै हाल सञ्चालनमा रहेका ३० मर्चेन्ट बैंकर्स मध्ये निक्षेप सदस्यतर्फ प्रथम, म्युचुअल फण्डमा दोस्रो तथा लगानी ब्यवस्थापनमा दोस्रो स्थानमा रहन सफल भएको जानकारी गराए ।

क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत आर्थिक वर्ष २०७७/७८ को अन्त्य सम्ममा १० वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको एवं निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हाल सम्म ७ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन, ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन र १५ वटा कम्पनीको बोलकबोल मार्फत शेयर बिक्री गर्ने काम गरेको जानकारी गराए ।

अत्याधुनिक प्रणालीको ब्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले डिम्याट खाता र मेरो शेयर खाता खोल्न, नविकरण गर्ने, खुलामुखी योजनाको इकाईको खरिद पूनखरिद तथा लगानी व्यवस्थापन सेवा समेत अनलाइन मार्फत गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ । लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, खुलामुखी योजनाको इकाइको खरिद बिक्री लगायतका क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई डिजिटलाइज रुपमा उपत्यका बाहिरबाट समेत अनलाइन मार्फत गर्दै लैजाने रणनीति संस्थाले लिएको छ ।

संस्थाले प्रदान गर्ने सेवालाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ काठमाडौँ उपत्यकाभित्र कीर्तिपुर, चावहिल र अनामनगर काठमाडौँमा शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गरेको छ ।

कम्पनीले निकट भविष्यमा काठमाडौँ उपत्यका बाहिरबाट समेत शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गर्ने रणनीति संस्थाले लिएको जनाएको छ । संस्थाले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तरगतको बन्दमुखी सामूहिक लगानीकोष योजनाहरु एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्सड् फण्ड तथा एनआईसी एशिया सेलेक्ट–३० इन्डेक्स फण्ड र पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड सञ्चालन गरिरहेको छ । साथै संस्थाले पाँचौ बन्दमुखी योजना एनआईसी एशिया फेलेक्सी क्याप फण्ड सञ्चालनको अन्तिम तयारी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *