प्रधानमन्त्री देउवा पत्नी आर्जुले भित्र्याइन् धनगढीस्थित निवासमा गौरा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवासमा आइतबार गौरा भित्र्याइएको छ । देउवा पत्नी डा. आर्जु राणा देउवाले विशेष पूजाआजासहित निवासमा गौरा भित्र्याएकी हुन् ।

डा. देउवाले बिहेपछि आफू हरेक वर्ष धार्मिक अनुष्ठानसहित गौरा वर्ष मनाउँदै आएको बताइन् । डा. देउवा गौरा भित्र्याउन आइतबार नै धनगढी आएकी हुन् । उनले गतवर्ष पनि धनगढीस्थित निवासमा गौरा भित्र्याएकी थिइन् ।

विशेष गरेर सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बैतडीमा हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजासहित गौरा भित्र्याउने गरिन्छ । आठ प्रजातिका वनस्पतिहरू (धान, साउँ, पाती, कुर्जो, दुबो, कुस, तिल र अफामार्ग)बाट गौराको मूर्ति बनाइन्छ ।

नौ प्रकारका प्राकृतिक वनस्पतिबाट बनेकाले यसलाई नवदुर्गाको प्रतिक मान्ने गरिन्छ । यहि नौ प्रकारका वनस्पतिबाट बनेको मूर्ति भगवती अर्थात् पार्वतीको मूर्ति हो । यसलाई गरगहना लगाएर खेतबाट बाजागासहित गौरा घरमा भित्राइन्छ ।

गौरालाई सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका साथै भारतको उत्तराखण्ड प्रदेशको कुमाउ र गढवालमा पनि मनाउने गरिन्छ । गौरा पर्व महिलाहरूले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान रहेको विश्वास गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *