महामारीमा यस्तो पर्‍यो नेपाली सञ्चार क्षेत्रलाई असर

काठमाडौँ । कोभिड-१९ का कारण लकडाउन हुँदा  नेपाली सञ्चारमाध्यम आर्थिक रुपले समस्यामा परेको र त्यसको असर पत्रकारहरूमा परेको पाइएको छ ।

सेन्टर फर मिडिया रिसर्च नेपालले शुक्रबार सार्वजनिक गरेको कोभिड-१९ महामारीले नेपाली मिडिया क्षेत्रमा पारेको असरसम्बन्धी रिपोर्टमा महामारीका कारण सञ्चारमाध्यम र पत्रकार दुवैलाई असर परेको उल्लेख गरिएको छ ।

रिपोर्टअनुसार लकडाउनका बेला केन्द्र र जिल्लाका विभिन्न छापा माध्यम बन्द भएको, रेडियो, टेलिभिजनमा कार्यक्रम कम भएको, विज्ञापन घटेको, आमसञ्चार माध्यमको आम्दानी घटेको, पत्रकारहरूलाई जागिरबाट निकालिएको, समयमा पारिश्रमिक नपाएको, पारिश्रमिक घटाइएको, बिदा दिइएको, बिनापारिश्रमिक पनि पत्रकारले काम गर्नुपरेकाे छ ।

यसका साथै प्रकाशन तथा प्रसारण भएका आमसञ्चार माध्यमहरूका लागि सामग्री संकलन गर्न कठिनाइ भएको र त्यसको प्रभाव गुणस्तरमा समेत परेको रिपोर्टमा उल्लेख छ ।

कोभिड-१९ बाट पत्रकार संक्रमित हुनुका साथै निधन भएको, पत्रकारमा मनोवैज्ञिनक असर परेको, पत्रकारिताको भविष्यप्रति अन्योल सिर्जना भएको रिपोर्टमा उल्लेख छ । आर्थिक समस्या र स्वास्थ्य संवेदनशीलता हुँदाहुँदै पनि पत्रकारहरू समाचार संकलन तथा प्रकाशन तथा प्रसारणमा खटिएको समेत रिपोर्टले देखाएको छ ।

संकटका बेला आम्दानी कम भए पनि मिडियालाई टिकाउनु नै महत्वपूर्ण पक्ष रहेको मिडिया सञ्चालकहरूको भनाइ रहेकाे रिपोर्टमा उल्लेख छ ।

रिपोर्टले विपद्लाई सामना गर्ने गरी नेपाली मिडियाको पूर्वतयारी नभएको र त्यसोहुँदा मिडिया सञ्चालक र पत्रकार मारमा परेको पनि देखाएको छ । छापा माध्यमका सञ्चालकले अनलाइनलाई जोड दिएको र जागिर गुमाएका पत्रकारले अनलाइनलाई विकल्पका रुपमा लिएको पनि रिपोर्टमा उल्लेख छ ।

मिडिया र पत्रकारलाई सहयोग गर्न सरकारले रेडियो तथा टेलिभिजनको नवीकरणमा छुट दिएको, प्रदेशमा पत्रकारलाई बिमा, लेखनवृत्तिका साथै जनचेतनामूलक सामग्रीमार्फत् सहयोग गरेको‚ तर पत्रकारले त्यसभन्दा बढी सहयोगको अपेक्षा गरेको पनि रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा संघ, प्रदेश र स्थानीय तहले विपद्‌मा पत्रकारिताको महत्वपूर्ण भूमिका हुने कुरालाई मनन गरी स्वतन्त्र र व्यवसायिक आमसञ्चार माध्यमको अस्तित्व कायम राख्न सहयोग हुनेगरी नीति निर्माण गर्नुका साथै विपद्को अवस्थामा तत्काल राहत तथा सहयोग हुने कार्यक्रम ल्याउन सुझाव दिइएको छ ।

यस्तै, आमसञ्चार माध्यमहरूले कुनै पनि बेला विपद् आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै भौतिक, आर्थिक र मनोवैज्ञानिक हिसाबले विपद् व्यवस्थापन योजना निर्माण गरी तयार रहन र पत्रकार  तथा कर्मचारीहरूलाई आवश्यक पूर्वतयारी ज्ञान र सीपका तालिम दिनुपर्ने उल्लेख छ । साथै पत्रकार र कर्मचारीलाई सहयोग  र प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्नेलगायतका सुझाव पनि उल्लेख गरिएको छ ।

रिपोर्ट तयार पार्ने क्रममा मिडिया सञ्चालक, पत्रकारसहित १४६ जनासँग अन्तर्वार्ता लिइएको संस्थाले जनाएको छ ।

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष ऋषिकेश दाहालले गुणात्मक विधि अपनाएर तयार पारिएको रिपोर्टले लकडाउनका बेला सातवटै प्रदेशका मिडिया र पत्रकारले भोग्नुपरेका समस्या तथा चुनौतीलाई मिहिन रुपमा बुझ्न सहयोग पुग्ने बताए ।

प्रदेशगत अध्ययन २०७७ साल मंसिरसम्म प्राप्त जानकारीका आधारमा गरिएको छ भने रिपोर्टको मूल लेखमा २०७८ साल साउनसम्मको विवरण समावेश गरी आगामी दिनमा विपद्को सामना गर्न सरकार, आमसञ्चार माध्यम, पत्रकार, पत्रकारका संघसंगठनलगायतले निर्वाह गर्नु भूमिकाबारे सुझाव दिइएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोभिड-१९ बाट थिलोथिलोमा परेको मिडिया क्षेत्रको पुनरुत्थानका लागि अभियान नै चलाउनुपर्ने बताए ।

फेडरिक इबर्ट  स्टिफटुङ्ग (एफइएस) नेपालका आवासीय प्रतिनिधि जोनाथन मेन्जले कोभिड-१९ का कारण मिडियाको चक्र र व्यवसायिक पक्षमा धेरै परिवर्तन आएको भन्दै संकटका बेला गुणस्तरीय पत्रकारिताको विशेष महत्व हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *