कहिले होला १२ को परीक्षा ?

काठमाडौँ । कक्षा १२ को परीक्षा कहिले हुने भन्ने अन्योल बढेको छ । कोभिड संक्रमणका कारण स्थगित गरिएको परीक्षा कहिले शुरु हुन्छ भन्ने अन्यौल बढेको हो ।

साउन ३१ गतेबाट परीक्षा हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेको थियो । तर‚ साउन २३ मा बसेको बोर्डको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गरेको थियो । परीक्षा स्थगित गर्न बोर्डलाई कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले लिखित पत्राचार गरेको थियो ।

सीसीएमसीसँगको समन्वयमा संक्रमणको स्थितिलाई मूल्याङ्कन गरी कम्तीमा १५ दिनको सूचना दिई नयाँ परीक्षाको तालिका प्रकाशन गरिने सूचनामा उल्लेख छ । तर‚ सूचना जारी भएको १९ दिनसम्म पनि नयाँ तालिकासम्बन्धी कुनै निर्णय नभएको राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले जनाएको छ ।

‘नयाँ परीक्षा तालिका सार्वजनिकको विषयमा अहिले त्यस्तो केही निर्णय भएको छैन । शायद विद्यार्थीको भ्याक्सिन कार्यक्रम सकिएपछि नै हुन्छ कि !’ बोर्डका एक अधिकारीले भने ।

यता प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले मंगलबार विद्यार्थीको भौतिक उपस्थितिमा सम्भव भएसम्म छिटो परीक्षा सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

शिक्षा मन्त्रालका प्रवक्ता दिपक शर्माले आफूहरू सीसीएमसीसँगको समन्वयमा सकेसम्म छिटो परीक्षा सञ्चालन गर्न लागिपरेको बताए । शर्माले भने, ‘स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यार्थीलाई आफूले पढेको विद्यालयबाट भौतिक उपस्थितिमा परीक्षा दिने व्यवस्था मिलाउँदैछौँ ।’

सबै विद्यार्थीलाई खोप पूरा भएपछि मात्र परीक्षा गर्दा ढिलो हुनसक्ने भएकाले १२ कक्षाको परीक्षासम्बन्धी निर्णय तत्कालै गर्ने तयारी भइरहेको उनले बताए । ‘तत्कालै भनेपनि केही समयचाहिँ लाग्छ‚’ प्रवक्ता शर्माले भने, ‘विद्यार्थी खोप कार्यक्रम तीव्र भयो भने केही समय पर्खिएर खोप पूरा भएपछि मात्र परीक्षा लिनुपर्ने पनि हुनसक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *