फिलिपिन्सका राष्ट्रपति उपराष्ट्रपतिमा उठ्दै, राष्ट्रपतिमा उनकै स्वकीय सचिव

काठमाडौँ । फिलिपिन्सको राजनीतिमा रमाइलो भएको छ । राष्ट्रपति उपराष्ट्रपति पदमा चुनाव लड्ने भएका छन् भने उनका स्वकीय सचिव राष्ट्रपति पदमा उम्मेदवार उठ्ने भएका छन् । अहिलेका राष्ट्रपति रोद्रिगो दुतेर्तेले सन् २०२२ मा हुने चुनावमा आफू उपराष्ट्रपतिमा उठ्ने बताएका छन् ।

गत मंगलबार सत्ताधारी पार्टी पीडीपी- लाबन पार्टीले यस्तो निर्णय गरेको चिनियाँ समाचार संस्था आउलेट सीजीटीएनले उल्लेख गरेको छ । आगामी सेप्टेम्बर ८ मा हुने पार्टीको महाधिवेशनबाट राष्ट्रपति दुतेर्तेका स्वकीय सचिव क्रिस्टोफर बोङ गो राष्ट्रपतिको उमेद्वार हुने निश्चितजस्तै छ ।

अन्तराष्ट्रिय मिडियाहरुले गो राष्ट्रपति हुने निश्चित भएपनि औपचारिकताको लागि पार्टी महाधिवेसनबाट निर्णय हुने दाबी गरेका छन् । गोलाई राष्ट्रपति बनाउन दुतेर्तेले सन् २०१९ बाटै तयारी गरेर सिफारिस गरेका थिए । राष्ट्रपतीय उम्मेदवार बनाउन आवश्यक प्रोफाइल बनाउन उनलाई सिनेटरसमेत बनाइएको थियो । गो अहिले दुतेर्तेको स्वकीय सचिवसँगै सिनेटर पनि छन् । दुतेर्तेको ६ वर्षे राष्ट्रपतीय कार्यकाल आगामी जुन महिनामा सकिँदैछ । फिलिपिन्समा एक कार्यकालभन्दा धेरै समय राष्ट्रपति हुन पाइँदैन ।

फिलिपिन्समा धेरै लोकप्रिय दुतेर्तेले उनको सम्भावित मुद्दा नउठाउन र पक्राउबाट बच्न स्वकीय सचिवलाई राष्ट्रपतिमा उठाउन लागेको भन्ने तर्कहरू पनि भइरहेका छन् । दुर्व्यसनविरुद्ध युद्ध गरेको बताउने दुतेर्तेको कार्यकालमा फिलिपिन्समा पाँच हजार हाराहारी युवा मारिएको मानिन्छ । लागुऔषध दुर्व्यसन फिलिपिन्सको सामाजिक मान्यता र विकासको बाधक भएको भन्दै दुतेर्नेले जहाँ भेटे त्यहि गोली हान्न आदेश दिएका थिए । उनको आदेशअनुसार धेरै दुर्व्यसनीहरूले आत्मसमर्पणसमेत गरेका थिए ।

अधिकारवादी संस्थाहरुले भने दुर्व्यसनीविरुद्धको युद्धको नाममा गैरन्यायिक हत्या र मानवताविरुद्धको अपराध भएको भन्दै आएका छन् । त्यसबाट बच्न दुतेर्तेले स्वकीय सचिवलाई राष्ट्रपति बनाएर आफू उपराष्ट्रपति हुने तर्क गरेका छन् ।

कतिपयले भने राष्ट्रपतिले बिचमा राजीनामा दिएर दुतेर्तेले आफै कार्यकारी अधिकार चलाउन सक्ने आकलन पनि गर्दै आएका छन् ।

सीजीटीएनबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *