गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण

कसैसँग हिरा र घरैघर, कसैलाई गाई बाख्राको भर

पोखरा । गण्डकी सरकारमा जिम्मेवारी पाएका मन्त्रीहरुले सम्पत्ति विवरण बुझाएका छन् । नियमअनुसार उनीहरुले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने हो । केही ढिलोगरी ११ मध्ये ९ मन्त्रीले विवरण पेश गरेका छन् । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे र कृषि मन्त्री चन्द्र बुढाले भने विवरण पेश गरेका छैनन् । मन्त्रीहरुको सम्पत्ति विवरण हेर्दा अधिकांशसँग प्रशस्त जग्गा र उत्तिनै ऋण देखिन्छ ।

सरकारको नेतृतव गरेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग तनहुँ, नवलपुर र काठमाडौंमा जग्गा छ । २०७६ सालमा उनले कृषि विकास बैंकबाट २५ लाख ऋण लिएको देखिन्छ । तर उक्त रकम फिर्ता गरेका छैनन् । ५ लाख रुपैयाँ एभरेष्ट बैंकमा बचत छ । उक्त रकम तलव बापत प्राप्त भएको खुलाइएको छ । ५ तोला पैतृक सुन देखाएका छन् । पोखरेलको नाममा काठमाडौंमा १५ आना जग्गा १५ लाखमा खरिद गरेको देखिन्छ । तनहुँमा साढे ६ रोपनी जमिन छ । श्रीमती लता पोखरेलको नाममा ३ आना ४ पैसामा बनेको साढे २ तले पक्की घर खुलाएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्कासँग १ करोड ३२ हजार नगद छ भने ५६ लाख ५० हजारको शेयर छ । उनले ८५ लाख रुपैयाँ अरुलाई ऋण दिएका छन् । पोखरा १६ दीपमा ३८२ वर्गमिटर जग्गा र पक्की घर छ । उक्त सम्पत्ति पैतृक भएको उनले खुलाएका छन् । उनकी श्रीमती कमला खड्काको नाममा पोखरा ३३ मा २२२ वर्गमिटर जग्गा छ । माइतीतबाट प्राप्त जग्गासँग साँटफेर गरेको खुलाइएको छ । यसबाहेक ९५ तोला सुन र ४३ लाख पर्ने फोर्ड गाडी छ ।

अर्थमन्त्री रामजी बरालसँग पोखरा २२ मा १ रोपनी ४ आना जग्गा छ । सोही ठाउँमा थप ७ हजार २ सय ५ वर्गमिटर पैतृक जग्गा, ४७ लाखमा किनेको थप जग्गा पनि छ । नगद ३ लाख र सुन ४ तोला देखाएका छन् । उनको नाममा १० हजारको शेयर छ । २०७७ सालमा एनआईसि एसिया बैंकबाट १ करोड ऋण लिएका छन् । त्यो रकम तिरेको देखिँदैन । छोरा र बुहारीको नाममा २ वटा मोटरसाईकल र एउटा स्कुटर छ । ६० हजारमा किनेको एउटा गाई पनि छ ।

उर्जा मन्त्री हरिशरण आचार्यको बुबाको नाममा क्षेत्रफल नखुलेको गोरखा पालुङटारमा जग्गा छ । श्रीमती गंगा सुनारको नाममा पालुङटारमै ३ लाखमा खरिद गरेको जग्गा देखाएका छन् । ८ तोला सुन र ५ तोला चाँदी देखाईएको छ । विभिन्न बैंकमा भएको ५० हजार नगद छ भने कृषि विकास बैंक र प्रभु बैंकबाट ५० लाख ऋण लिएका छन् । हालसम्म १० लाख मात्रै तिरेको देखिन्छ । बैंकबाट लिएको ऋणबाटै फर्निचर उद्योग खोलेको विवरण बुझाइएको छ ।

मन्त्री दिपक थापाको नाममा पैतृक र खरिद गरेको जग्गा स्याङजाको विरुवा गाउँपालिका वडा नम्बर २ मा छ । सोही ठाउँको ८ रोपनीमा उनले सुन्तला बगैंचा बनाएका छन् । पोखरा १४ मा ४० लाख तिरेर १७८ वर्गमिटर जग्गा किनेका छन् । ३० तोला सुन र २० तोला चाँदी पैतृक छ । विभिन्न बैंकमा १५ हजार नगद देखिन्छ । उनले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६१ लाख ५० हजार ऋण लिएको देखाएका छन् । २५ वटा बाख्रा, ७५० बोट सुन्तला, ६ रोपनी जग्गामा नर्सरी सम्पत्तिको रुपमा उनले खुलाएका छन् ।

कानून, सन्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा सबैभन्दा धनी देखिएका छन् । पोखराका विभिन्न ठाउँमा ६ वटा घर, १०९ कित्तामा जग्गा छ भने ठाउँठाउँमा होटलहरु छन् । ९० तोला सुन, ५० तोला चाँदी, १५ तोला हीरा पनि उनले देखाएका छ । दुईवटा गाडी, पाँच वित्तीय संस्थामा ऋण तथा होटेल, ट्रेड हाउस, मल, रिसोर्टलगायतमा लगानी छ । विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद मौज्दात, साढे सात लाख कित्ता सेयर देखाएका छन् । सबै सम्पत्ति सगोलमा जोडिएको छ । विभिन्न बैंकमा ३० करोड हाराहारी ऋण देखिन्छ ।

स्वास्थ्यमन्त्री मधुमाया अधिकारीसँग लमजुङको दुधपोखरी ४ मा १ लाख ५३ हजार जग्गा र त्यसभित्र बनेको घर छ । लमजुङको जग्गा पैतृक हो । चितवन र मकवानपुरमा पनि जग्गा छ । शहीद राहातका रुपमा पाएको रकम जग्गामा लगानी गरेकी हुन् । ३ तोला सुन, विभिन्न बैंकमा ८ लाख ६० हजार नगद र एउटा स्कुटर छ ।

पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्माले चितवनमा ३६ लाखको जग्गा किनेका छन् । बागलुङकै नरेठाँटीमा श्रीमतिको नाममा ८ लाख ४० हजारको जग्गा खरिद गरिएको छ । लेखानीमा पैतृक जग्गा छ । यसबाहेक रुपन्देहीमा ५७ लाख ३५ हजारको जग्गा किनेका छन् भने चितवनमा थप २७ लाख ३५ हजारमा जग्गा खरिद गरेको देखाइएको छ । उक्त जग्गाहरु ऋणमा लिएको उनले खुलाएका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थामा सवा २ लाख नगद छ । उनीसँग विभिन्न कम्पनीको ८५ लाखको शेयर छ भने २ करोड ४० लाख ऋण देखाएका छन् ।

मेखलाल श्रेष्ठको नाममा स्याङजा र काठमाडौंमा दुईवटा घर छन् । व्यापार र पैतृक रुपमा आर्जन गरेका काठमाडौं, पोखरा र स्याङजाका ठाउँठाउँमा जग्गाहरु छन् । उनीसँग १५ लाख नगद, १ किलो १९ तोला सुन, ७ किलो २ तोला चाँदी र एउटा हिराको औंठी देखाएका छन् । उनीसँग करिव ८ करोड ऋण छ भने भीरकोटमा सुन्तला बगैंचा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *