मण्डलामा ‘मेमोरी ३० अगस्ट’

काठमाडौँ । नेपालमा १० वर्षसम्म चलेको सशस्त्र युद्धमा १५ हजारभन्दा बढी नागरिक मारिए । १३ सयको हाराहारीमा नागरिकहरू बेपत्ता बनाइए । हजारौँ नागरिकहरू द्वन्द्वको कारणले अपाङ्गता भोग्न बाध्य छन् भने कति विस्थापित भए । द्वन्द्वमा यौन हिंसा भोग्नेहरूको त आधिकारिक तथ्याङ्कसमेत छैन ।

यो हिंसात्मक द्वन्द्वको पीडा बोकेर एउटा पुस्ता हुर्किसक्दा पनि राज्यले त्यो पीडामा मह्लम लगाउन सकेको छैन । द्वन्द्वपीडितका पीडा, न्यायको लडाइँ र सत्यको पर्खाइ अब ती परिवारको मात्र नरहोस् र‚ यो सबैको साझा मुद्दा बनोस् भन्ने उद्देश्यले सन् २०१५ यता हरेक वर्ष मण्डला थिएटर नेपालले ‘मेमोरी ३० अगस्ट’ कार्यक्रम गर्दै आइरहेको छ ।

हरेक वर्ष बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन आयोजना गरिने कार्यक्रम ‘मेमोरी ३० अगस्ट’अन्तर्गत यस वर्ष विद्यार्थीहरूद्वारा ‘युद्धका घाउहरू’ नाटक अभ्यास तथा मञ्चन कार्यक्रम रहेको छ ।  मण्डलाले एक वर्षअघि सुरु गरेको मण्डला ड्रामा स्कूलका विद्यार्थीहरूले आफ्नो प्रशिक्षणको अन्त्यमा आएर नेपालको द्वन्द्वमा समाधान नभएका विषयहरूमा लघु नाटक बनाएका छन् ।

देशका विभिन्न भूभागबाट आएका १६ जना प्रशिक्षार्थीहरूले चार समूहमा विभाजन भएर द्वन्द्व प्रभावित समुदायहरूसँग छलफल र सहकार्य गर्दै बनाएका चार टुक्रा प्रस्तुतिहरूलाई आगामी भदौ १४ गते सोमबार साँझ साढे पाँच बजे मण्डलाका आधिकारिक च्यानलहरूबाट प्रत्यक्ष प्रसारण गरिने मण्डला थियटरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *