गण्डकी प्रदेश

मुख्यमन्त्रीको गाडी खरिद नियम विपरित, एकैवर्ष ३० करोडका नयाँ गाडी

पोखरा । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २ करोड ५० लाख रुपैयाँ पर्ने ल्याण्ड क्रुजर गाडी किने । त्यहि सिको गर्दै निवर्तमान अर्थमन्त्री किरण गुरुङले पनि १ करोड ७० लाख पर्ने टोयोटा फर्चुनर गाडी खरिद गरे । गाडी खरिदको प्रतिस्पर्धा नै चल्यो, गण्डकीमा ।

उनीहरुले किनेको गाडी नियम विपरित खरिद गरिएको भन्दै महालेखाले प्रश्न उठाएको छ । सवारी साधन खरिद सम्बन्धी मार्गदर्शनले प्रदेश मातहतका पदाधिकारी र कार्यालयले खरिद गर्ने गाडीको मूल्य सीमा तोकिदिएको छ । नियमानुसार मुख्यमन्त्री वा समानस्तरका पदाधिकारीलाई १ करोडसम्मको मात्रै गाडी किन्न मिल्छ । सभामुख, मन्त्री तथा प्रमुख सचिवलाई ७५ लाख, महाशाखा प्रमुख र कार्यालय प्रमुखलाई ३० लाखसम्मको गाडी खरिद गर्न पाईन्छ । निवर्तमान मुख्यमन्त्री र अर्थमन्त्रीको गाडी मूल्य सीमाभन्दा दोब्बर बढी छ । नियम विपरित खरिद हुने सवारीमा नियन्त्रण गर्न मलेपको प्रतिवेदनले सुझाएको छ ।

एकैवर्ष गण्डकीले ३० करोडको गाडी खरिद गरेको छ । सामाजिक विकास मन्त्रालयले ३ करोड ८८ लाखका गाडी ९ वटा, आन्तरिक मामिला तथा कानून मन्त्रालयले १ करोड ५१ लाखका ४ वटा पिकअप, ४० लाखको एउटा कार, ६ लाखको ३ वटा स्कुटरसहित १ करोड ९८ लाख खर्च गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ५६ लाखको इलेक्ट्रिक कार, २ करोड ६७ लाखको ५ वटा जीपसहित ३ करोड २३ लाख खर्च गरेको छ । यो मन्त्रालयले भवन निर्माणका लागि विनियोजन गरिएको १ करोड समेत रकमान्तर गरेर गाडी किनेको हो ।

गाडी खरिदमा भएको बृद्धिसँगै इन्धन खर्च र मर्मतसमेत बढ्ने देखिएको छ । कतिपय कार्यालयले गाडी खरिदमा मापदण्ड पालना नगरेको भन्दै मापदण्ड पालनामा महालेखाले कडाईका साथ नियम कार्यान्वयन गर्न भनेको छ । आर्थिक वर्ष २०७५/०७६ मा पनि मन्त्रालयहरुले गाडी खरिदमा १५ करोड ७४ लाख खर्च गरेका थिए । कोभिडकै छेको पारेर प्रदेश सरकारले सबै जिल्ला अस्पताललाई पनि नयाँ गाडी किनिदिएको थियो भने प्रहरीलाई मोटरसाईकल पनि खरिद गरिदिएको थियो ।

यसरी खरिद भएका गाडीको अभिलेख प्रदेश सरकारले एकद्धार प्रणालीबाट नराखेको प्रतिवेदनमा उल्लेख छ । प्रदेशको आर्थिक कार्यविधिमा मन्त्रालयले आफ्नो जिम्मामा रहेको सवारी साधनको एकीकृत जिन्सी प्रतिवेदन लेखा नियन्त्रक कार्यालयमा पठाउनुपर्नेमा हालसम्म नपठाएको पाईएको हो । सरकारले भने आवश्यकताका आधारमा मात्रै गाडी किनेको दाबी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *