गण्डकीमा अफलाइन पढाइ शुरू

पोखरा । २०७६ चैत ११ देखि  शुरु भएको लकडाउन केही समय खुलेपनि जोखिम कायमै छ । सरकारले २०७७ असार १ देखि विद्यालयमा अनलाइन कक्षा सञ्चालन अनुमति दिएपनि विकट क्षेत्रमा इन्टरनेट पुगेको छैन । जसका कारण विद्यार्थी पढ्नबाट बञ्चित भएका छन् । गण्डकी सरकारले त्यसैका लागि इन्टरनेट विनै चल्ने पढाई सुरु गरेको छ । भौतिक रुपमा उपस्थित हुनु नपर्ने र घरमै बसेर इन्टरनेट बिना पढ्न पाईने ‘एप’ सुरु गरिएको हो । तत्कालका लागि परीक्षणको रुपमा थालिएको यो एप प्रदेशभरी विस्तार गर्ने लक्ष्य रहेकाे प्रदेश सरकारले जनाएको छ ।

कोरोना जोखिम र भविष्यमा हुन सक्ने यस्तै खाले महामारीलाई मध्यनजर गर्दै सरकारी विद्यालयमा अफलाइन कक्षा सुरु गरिएको हो । स्याङजाको दहथुम माविबाट नयाँ एप सार्वजनिक गरिएको छ । इन्टरनेट पहुँचभन्दा बाहिरका विद्यार्थी लक्षित अफलाइन वैकल्पिक पढाई सुरु गरिएको शिक्षा मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए । शिक्षाको सुधार विना देशको परिवर्तन गर्न नसकिने उनको भनाई छ । ‘अनलाइन कक्षा सहर केन्द्रित छ । गाउँका विद्यार्थीले त्यसबाट पढ्न सक्दैनन्,’ उनले भने, ‘शिक्षाको अधिकार सबै विद्यार्थीले पाउनुपर्छ । सरकारले त्यसकै लागि अफलाइन एप मार्फत सिकाउन लागेको हो ।’

व्यवहारिक र भूगोल सुहाउँदो शिक्षाका लागि प्रदेशको छुट्टै शिक्षा नीति पनि तयार हुँदै छ । अफलाइन पढ्न पाउने भएपछि विद्यार्थीहरु पनि निकै खुशी छन् । सोही विद्यालयको १० कक्षामा पढ्दै गरेकी मन्जु काफ्ले भन्छिन्, ‘जुमबाट कहिलेकाहि पढाई हुन्छ । स्कुल जाने कुरै भएन । कहिले लाइन जान्छ, कहिले इन्टरनेट चल्दैन । पढ्ने भनेर बस्यो राम्रो सँग बुझ्दै बुझिँदैन ।’ अब भने सहज रुपमा पढ्न सक्ने उनले बताइन् ।

परीक्षणका लागि कक्षा ६ देखि १० सम्मको अनिवार्य ५ विषयको छुट्टाछुट्टै विषय एपमा राखिएको छ । एप भिडियोमा आधारित छ । भिडियोमा पढेर नबुझेका विषय शिक्षकसँग सोध्न सकिने गरि तयार गरिएको जानकार देवराज पौडेलले बताए । ‘इ-गुरु’ नाम दिइएको एप मोबाइलमा डाउनलोड गर्न सकिन्छ । परीक्षण सफल भए प्रदेशभरका १ हजार ५ सय भन्दा बढी विद्यालयका करिव ४ लाख विद्यार्थी लाभान्वित हुने शिक्षा निर्देशक अम्बिका आचार्यले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *