ललितपुर महानगर र जुम्लाको चन्दननाथ नगरबीच भगिनी सम्बन्ध

ललितपुर प्रमुख भन्छन्- नयाँ योजना लिएर जुम्ला जान्छौ

काठमाडौँ । ललितपुर महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । विकासका योजना र अनुभव आदान प्रदान गर्ने उद्देश्यले दुई स्थानीय तहबीच भगिनी सम्बन्ध कायम राख्न समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सम्झदारीपत्रमा पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र चन्दननाथ नगरपालिकाको तर्फबाट नगरप्रुमख कान्तिका सेजुवालले भगिनी सम्बन्ध (सिस्टर सिटी रिलेसन) समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेका थिए । अब ललितपुर महानगर र चन्दननाथ नगरपालिकाबीच योजना तथा कार्यक्रमको आदानप्रदान, संस्कृति, परम्परा संरक्षण गर्ने तरीका तथा अन्य क्षेत्रका अनभुव र सीप साटासाट हुने ललितपुर नगरप्रमुख महर्जनले बताए ।

चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको प्रस्तावमा ललितपुर महानगरले चन्दनाथ नगरसँग भगिनी सम्बन्ध जोडेको हो । विश्वका अन्य मुलुकसँग भगिनी सम्बन्ध कायम राखेपनि ललितपुरले देशभित्रका अन्य स्थानीय तहसँग यसअघि भगिनी सम्बन्ध कायम राखेको थिएन ।

चन्दननाथ नगरपालिकासँग यो सम्बन्ध जोड्न पाएकोमा अत्यन्तै खुशी लागेको ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, ‘यो सम्बन्ध जोड्न पाउँदा हामी निकै खुशी छौं, अब हामीले एकअर्कालाई दुःख सुखमा साथ दिने छौं ।’ आफ्नो नगरमा भएका विकासका योजना तथा कार्यक्रमहरु चन्दननाथ नगरपालिकालाई सिकाउने बताउँदै नगरप्रमुख महर्जनले छिट्टै नयाँ योजना लिएर जुम्ला पुग्ने बताए ।

भगिनी सम्बन्ध कायम गरेर ललितपुर महानगरसँग सहकार्य गर्ने योजना बनाएकी चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालले ललितपुरले आफ्नो प्रस्ताव स्वीकार गरेकोमा खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘ललितपुर महानगरसँग मितेरी साइनो जोड्न पाउँदा खुशी लागेको छ, हाम्रा अनुभव र कार्यक्रम साटासाट गर्दा हामी समृद्ध हुनेछौं ।’ नगरप्रमुख सेजुवालले जुम्लाले हासिल गरेका अनुभव ललितपुरलाई सिकाउने र ललितपुरबाट पनि धेरै कुरा सिक्ने बताइन् ।

समझदारी पत्रमा दुबै नगरले प्रदान गर्ने सेवा तथा काम कारबाहीका बारेमा अन्तरक्रिया गर्ने, दुबै पक्षबाट संचालन हुने कार्यक्रममा सहभागिताको लागि आव्हान गर्ने, दुबै पक्षका कर्मचारीले काम कारबाहीबारे अनुभव साटासाट गर्ने, नीति, कार्यक्रम, पाठ्यसामग्री साटासाट गर्ने, दुबैका वेभसाइट लिंक गर्ने, भौतिक संरचनाको विकासमा सहकार्य गर्ने र प्रारम्भिक सहयोग आदानप्रदान गर्ने लगायतका विषयहरु उल्लेख छन् ।

कार्यक्रममा उपप्रमुख गीता सत्यालले संस्कृति, परम्परा संरक्षणका विषय र विकास निर्माणका अनुभव साटासाट गर्न यो सम्बन्ध महत्वपूर्ण हुने बताइन् । चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत षडानन्द चौलागाईले दुरदराजको नगरपालिकाले उपत्यकाभित्रको कला, संस्कृति र सम्पदाले सम्पन्न नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्न पाउँदा खुशी लागेको बताए । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल अन्य शाखा, महाशाखाका प्रमुखहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *