शम्भुराज थापाको निधनले कला क्षेत्र स्तब्ध

काठमाडौँ । कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । करिब २ साताअघि कोरोना सङ्क्रमण भएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य जटिल बन्दै गएपछि एक साता अघिबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेका थापाकाे बिहान करिब ४:३० बजे निधन भएको हो ।

कोरोना सङ्क्रमणपछि उनमा निमोनिया बिग्रिएको थियो । त्यस्तै उनको फोक्सोको अधिकांश भाग बिग्रिएको चिकित्सकले जानकारी दिएका थिए । उनीसँगै उनकी श्रीमती र छोरामासमेत सङ्क्रमण देखिएकोमा अहिले उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

थापाको निधनको समाचार सामाजिक सञ्जाल फेसबुकमार्फत कलाकार विनोद बान्तवा राईले सार्वजनिक गरेका हुन् । उनले कति धेरै प्रार्थना गर्दा पनि बचाउन नसकेकोमा दु:ख व्यक्त गर्दै छिटै छोडेर जानु भएकोले नै धेरै माया गर्नुभएको रहेछ भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

त्यस्तै, कलाकार रश्मि भट्टले समेत हार्दिक श्रद्धाञ्जली दाइ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । सीताराम कट्टेल ‘धुर्मुस’ ले ‘निःशब्द’ लेख्दै वैकुण्ठमा बासको अपेक्षा गरेका छन् ।

कलाकार प्रताप सापकोटाले कोरोनालाई हलुका रूपमा नलिन आग्रह गर्दै थापाको आत्माको चिर शान्तिको कामना गरेका छन् । कलाकार केदार प्रसाद घिमिरेले थापाको वैकुण्ठ बासको अपेक्षा गरेका छन् ।

अभिनेता सरोज खनाल थापाको निधनमा भावुक बनेका छन् । उनले ‘पुकार’ चलचित्रमा एक साथ काम गरेको अनुभव साट्दै उक्त चलचित्रमा अभिनय गरेका दुई कलाकार श्रीकृष्ण श्रेष्ठ र केशव थापालाई पहिले नै गुमाएकोमा अहिले थापाको समेत निधनले मर्माहत भएको बताएका छन् ।
५५ वर्षीय थापा तीन दशकदेखि अभिनयमा सक्रिय थिए । २०४८ सालमा निर्माण भएको चलचित्र ‘पुकार’ बाट अभिनय करिअर सुरु गरेका उनले त्यसयता दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरे । चलचित्र ‘आफ्नो बिरानो’ निर्माण गरेर उनले आफूलाई निर्माताको रूपमा उभ्याएका थिए । मह सञ्चारको आमा, मदनबहादुर हरिबहादुर लगायतका टेलिसिरियलसँगै पछिल्लो समय मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाइलो लगायतका टेलिसियिरयलमा अभिनय गर्दै आएका थिए ।

थापाको निधनले सम्पूर्ण कला क्षेत्र नै स्तब्ध भएको छ । उनको आत्माको चिर शान्तिको कामना ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *