वित्तीय पहुँच बढ्यो, बैंक खाता जनसंख्याभन्दा बढी

काठमाडौँ । नेपाल राष्ट्र बैंकको वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदनले नेपालमा वित्तीय पहुँचको अवश्थामा सुधार हुँदै गएको देखिएको छ । अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ ।

वित्तीय साक्षरता प्रवद्र्धन, शाखा विस्तार, शाखारहित बैंकिङ, भुक्तानी प्रणालीको आधुनिकीकरण गर्ने लगायतका नीतिगत व्यवस्थाले बैंक तथा वित्तीय संस्थाका शाखाले सेवा पु¥याउने नागरिकको संख्या बढ्दै गएको देखिएको हो ।

राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाको शाखा संख्या २०७७ चैत मसान्तमा ५ हजार ९ सय ७८ पुगेको छ । ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ५० तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ ।

निक्षेप खाताको संख्या ३ करोड ६३ लाख ६६ हजार रहेको छ । जबकी ४ भदौसम्म नेपालको जनसंख्या ३ करोड ४ लाख ३८ हजार रहेको छ । त्यस्तै, कर्जा खाता संख्या १६ लाख ८२ हजार ८ सय ४५ रहेको छ । २०७७ जेठ मसान्तमा ३ करोड १८ लाख ८६ हजार निक्षेप खाता र यसमध्ये नेपाली प्राकृतिक व्यक्तिको २ करोड ९९ लाख २८ हजार ४ सय ३६ निक्षेप खाता रहेका छन् ।

तीन पुस्ते विवरणको आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा २०७७ जेठ मसान्तमा ६७.३४ प्रतिशत नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखिएको छ । २०७६ असार मसान्तमा कम्तीमा एक निक्षेप खाता भएका नेपालीको संख्या ६०.९ प्रतिशत रहेको थियो ।

कुल निक्षेप खातामा प्राकृतिक व्यक्तिको खाताको हिस्सा ९३.४८ प्रतिशत पाइएको छ । प्रतिहजार व्यक्ति ९ सय ९८ खाता रहेकोमा पुरुषको प्रतिहजार व्यक्ति १ हजार ३ सय १४ खाता र महिलाको प्रतिहजार व्यक्ति ६ सय ८७ खाता रहेका छन् ।

प्रदेशगत रूपमा सबैभन्दा बढी बागमती प्रदेशमा प्रतिहजार व्यक्ति १ हजार ८ सय २ र कर्णाली प्रदेशमा सबैभन्दा कम प्रतिहजार व्यक्ति ४ सय ५८ खाता रहेका छन् ।

महानगरमा प्रतिहजार व्यक्ति ३ हजार २ सय ९६ र ग्रामीण नगरपालिकामा प्रतिहजार व्यक्ति २ सय ५१ खाता रहेका छन् ।

कुल निक्षेप खातामध्ये ६७.७ प्रतिशत खाता सक्रिय रहेका छन् । पुरुषको खाता संख्यामध्ये ६५.२ प्रतिशत र महिलाको खाता संख्यामध्ये ७२.३ प्रतिशत खाता सक्रिय रहेका छन् ।

ग्रामीण नगरपालिकामा ८१.५ प्रतिशत खाता सक्रिय रहेको पाइएको छ । प्राकृतिक व्यक्तिले खोलेका कुल निक्षेप खाता संख्यामा बचत निक्षेप खाताको हिस्सा ९०.६ प्रतिशत र मुद्दती निक्षेप खाताको हिस्सा ३.१ प्रतिशत रहेको छ ।

व्यक्तिगत खातामा ९६.१५ प्रतिशत हिस्सा वयस्क व्यक्ति (पन्ध्र वर्षभन्दा माथि) को रहेको छ । प्रति १ लाख जनसंख्यालाई सेवा पु¥याउने बैंकको शाखा संख्या औसतमा १८.९८ प्रतिशत रहेको छ । उक्त संख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३०.२५ र सबैभन्दा कम प्रदेश नं. २ मा ९.७३ प्रतिशत रहेको छ ।

ग्रामीण क्षेत्रमा प्रति एक लाख जनसंख्यालाई सेवा पु¥याउने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८.५४ र महानगरपालिकामा ४५.७६ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

प्रविधिको प्रयोगअन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ता २०.३५ प्रतिशत, मोबाइल बैंकिङ प्रयोगकर्ता ३२.०३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत रहेका छन् ।

प्रतिखाता एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ता बागमती प्रदेशमा सबैभन्दा बढी क्रमशः २६.११, ३३.१२ र ६.४० प्रतिशत रहेको छ ।

प्रतिखाता एटीएम प्रयोगकर्ता गण्डकी प्रदेशमा सबैभन्दा कम १४.५० प्रतिशत, प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता प्रदेश नं. २ मा सबैभन्दा कम २७.०१ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा सबैभन्दा कम ०.५२ प्रतिशत रहेको पाइएको छ ।

महानगरमा प्रतिखाता एटीएम प्रयोगकर्ता २७.२८ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६.४८ प्रतिशत रहेका छन् । गाउँपालिकामा प्रतिखाता एटीएम प्रयोगकर्ता १०.६१ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १.०८ प्रतिशत रहेका छन् ।

प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता गाउँपालिकामा सबैभन्दा बढी ३३.३६ प्रतिशत रहेको देखिएको छ । उमेरगत हिसाबले २० वर्ष उमेरका व्यक्तिमा प्रविधिको प्रयोग उच्च रहेको र सो उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः घट्दै गएको देखिएको छ ।

युवा पुस्तामा प्रविधिको प्रयोग उच्च रहेको हुँदा आगामी दिनमा प्रविधिको माग दिनानुदिन बढ्दै जाने प्रतिवेदनमा उल्लेख छ ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थामा २०७७ जेठ मसान्तमा कायम निक्षेप खाताको विवरणको आधारमा यो अध्ययन प्रतिवेदन तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *