प्रश्न सोध्दै जीवन चक्र

काठमाडौँ । हरेक समस्याको कारण अस्वस्थता हो भन्ने मूल अवधारणामा बनेको टेलिसिरियल हो जीवन चक्र । नेपाल टेलिभिजनमा हाल प्रसारण भइरहेको यो टेलिसिरियलको सुरुवाती चरणका केही भागहरू कर्णाली क्षेत्रमा केन्द्रित रहेर मुगुको दुर्गम गाउँमा छायाङ्कन गरिएको छ । जीवन चक्रमा त्यहीँका गाउँलेहरूले अभिनय गरेका छन् । स्वास्थ्य चौकीमा भूत बस्छ भन्ने जनविश्वासका कारण बन्द हुन पुगेको उक्त स्वास्थ्य चौकी खोल्न गाउँ पुगेका स्वास्थ्यकर्मीको भूमिका विशाल पोख्रेलले अभिनय गरेका छन् ।

कर्णाली सिरिजपछि सुदूरपश्चिम सिरिज‚ त्यसपछि मधेस सिरिज अनि अन्त्यमा सहर सिरिजका रूपमा आउने जीवन चक्र स्वास्थ्यका गम्भीर र जड विषयहरूमा केन्द्रित रही उत्पादन गरिएको छ ।

युनिसेफको सहयोगमा स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रले निर्माण गरेको जीवन चक्र यस वर्ष मनोज पण्डितको लेखन र निर्देशनमा निर्माण भइरहेको छ भने अल थ्री मिडिया घरले प्राविधिक व्यवस्थापन गरिरहेको छ ।

मनोरञ्जनका अनेकौँ विकल्प उपलब्ध भइरहेको अवस्थामा यो नयाँ संस्करणको जीवन चक्र नेपाली दर्शकले किन हेर्ने भन्ने प्रश्नमा निर्देशक पण्डित भन्छन्‚ ‘जीवन चक्र त्यस्तो मन्त्र हो‚ जसले मानव समाजको अधिकांश समस्या समाधान गर्न मार्गदर्शन गर्छ । यो सिरिज त्यो चेतनालाई आत्मसात् गर्नका लागि हेर्ने हो । किनभने हामी अनेकौँ समस्याहरूबाट ग्रसित छौँ । मनोरञ्जन गर्नुमात्रै मूल कुरो होइन, चेतनाको विकास ठूलो कुरो हो तर‚ त्यसो भन्दैमा मनोरञ्जनलाई बेवास्ता गरिएको छैन । सृजनशील मनोरञ्जनलाई हामीले महत्त्व दिएका छौँ ।’

के तपाईं स्वस्थ हुनुहुन्छ ? भन्ने आफ्नो मूल मन्त्र बनाएको जीवन चक्रका लागि अध्ययन अनुसन्धान गर्दै जाँदा समाजमा पूर्ण स्वस्थ मानिस भेटाउन गाह्रो भएको अनुभव सुनाउँदै निर्देशक पण्डित भन्छन्, ‘हामी सबै अस्वस्थ छौँ । भौतिक स्वास्थ्यका लागि केही पहल भए पनि मानिसको स्वास्थ्यमा हामी सबैको ध्यानाकर्षण पुगेको छैन ।’

जीवन चक्रले यही एउटा तथ्यमात्र स्थापित गर्न सक्यो भने आफ्नो अथक र इमान्दार प्रयत्न सार्थक हुने उनी बताउँछन् । नेपाल टेलिभिजनमा हरेक आइतबार ७:२५ बजे प्रसारण हुँदै आइरहेको जीवन चक्रको छायाङ्कन डोरबहादुर कटुवाल, सम्पादन सन्तोष दवाडी र सङ्गीत पुष्कर महतोले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *