खाद्य वस्तु ढुवानीमा बन्देज गरेको भन्दै वायु सेवा सञ्चालकको विरोध

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हुम्लामा खाद्य वस्तु ढुवानी गर्न आह्वान गरेको बोलपत्रमा सहभागी हुन आफूहरुलाई बन्देज गरिएको भन्दै वायु सेवा सञ्चालक संघले विरोध जनाएको छ । बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै संघले यस्तो विरोध जनाएको हो ।
उक्त कम्पनीले १५ साउनमा जारी गरेको सूचना अनुसार आर्थिक वर्ष २०७८/७९ का लागि हवाई मार्गमार्फत खाद्यान्न ढुवानी गर्ने ठेक्काका लागि मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएको हुनुपर्ने शर्त राखेर आफूहरुलाई ठेक्का प्रक्रियामा सहभागी हुन बन्देज गर्न खोजिएको भन्दै संघले विरोध गरेको छ ।
मूल्य अभिवृद्धि कर ऐन २०५२ ले यातायात तथा ढुवानी सेवालाई भ्याटमा दर्ता हुनु नपर्ने सेवाको रुपमा राखेको र हवाईमार्गमार्फत ढुवानी गर्नुपर्ने खाद्य वस्तुको ठेक्का प्रतिपर्धालाई सीमित गर्न कानुनविपरीत भ्याटमा दर्ता भएको हुनुपर्ने शर्त राखिएको आरोप संघले लगाएको छ ।









