रोकिएन बोक्सीको आरोपमा हुने यातना, बलात्कारका घटना झन् बढ्दो

पोखरा । गण्डकी प्रदेशमा बर्सेनि महिला हिंसा र बलात्कारका घटनाहरू बढ्दै गएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा ४ सय ८ वटा महिला तथा बालबालिकाको हिंसासम्बन्धी मुद्दा दर्ता भएको छ । यसमा सबैभन्दा धेरै बलात्कारका घटना छन् । २ सय ९ वटा बलात्कारका मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । त्योभन्दा अघिल्लो वर्ष १ सय ६१ र त्यसअघि १ सय ८३ वटा मुद्दा दर्ता भएको थियो ।

त्यसबाहेक जबरजस्ती करणी उद्योगका मुद्दाहरू पनि छन् । तीन वर्षमा १ सय ९८ वटा करणी उद्योगको मुद्दा छ । सुसंस्कृत र साक्षर प्रदेशको रुपमा लिने गरिएपनि गण्डकीबाट समेत ललाई फकाई बेचबिखनमा परेका व्यक्तिहरू पनि छन् । गतवर्ष ७ जना बेचबिखनमा परेको प्रहरी प्रवक्ता एसएसपी नरबहादुर केसीले जानकारी दिए ।

यहाँ बहुविवाहको मुद्दा पनि उत्तिकै मात्रामा छन् । २ सय ६१ वटा मुद्दा बहुविवाहसम्बन्धी रहेका छन् ।

‘कतिपय मुद्दाहरू अझै प्रहरीकोमा आएका छैनन् । आएका मुद्दा सकेसम्म छिटो किनारा लगाउने काम प्रहरीले गरिरहेको छ,’ उनले भने, ‘अपराध घटेको छैन । संक्रमणको बेला यस्ता घटना झनै बढेका छन् ।’ कोरोना भाइरस संक्रमपछि जारी गरिएको लकडाउनको अवधिमा यस्ता घटना झन् धेरै भएका छन् ।

८ वटा बालविवाह भएको तथ्याङ्क छ । यो वर्षको साउनमा मात्रै २ वटा बालविवाहको मुद्दा परिसकेको छ । बोक्सीको आरोपमा यातना दिने क्रम अझै रोकिएको छैन । तीन वर्षको अवधिमा ७ जना बोक्सीको आरोपमा यातना खेप्न बाध्य छन् । पछिल्लो समय बाल यौन दुराचार र अप्राकृतिक मैथुनसम्बन्धी घटना पनि बढिरहेको छ ।

खासगरी पोखराको लेकसाइड क्षेत्रबाट बाल यौन दूराचार गरिरहेको अवस्थामा धेरै विदेशीहरू पक्राउ परिरहेका छन् । १२ जना अप्राकृतिक मैथुन र ९८ जनालाई बाल यौन दुराचार मुद्दामा कारबाही भइरहेको केसीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *